गढवा–६ मा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा कुपोषण सम्बन्धी प्रोत्साहन कार्यक्रम सम्पन्न

आलोक भावुक
गढवा, १२ जेठ ।
दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा मंगलबार गढवा स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा कुपोषण सम्बन्धी प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य तथा पोषण क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कडा सिघ्र कुपोषण तथा मध्यम कुपोषण भएका बालबालिकामध्ये स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराउन ल्याइएका बालबालिकातर्फ अनिस रांगु मगर प्रथम, कबिर चौधरी द्वितीय, निरु कुमारी यादव तृतीय तथा बिकाश यादव सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविका तर्फ कालीदेवी कुमाल प्रथम, मिता केसी द्वितीय, बसन्ता खनाल तृतीय तथा खिमा भण्डारी सान्त्वना घोषित भएका थिए।

जन्मदेखि २४ महिनासम्म स्वास्थ्य संस्थामा नियमित वृद्धि अनुगमन गराएका बालबालिकामध्ये ३ सय ६४ जनाको मूल्यांकन गर्दा सारब केसी प्रथम, शिशिर राना द्वितीय, प्रीन्स चौधरी तृतीय तथा अविनाश यादव सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। नियमित स्वास्थ्य परीक्षण तथा वृद्धि अनुगमनका आधारमा अभिभावकहरूलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सूचक तथा इन्डिकेटरका आधारमा उत्कृष्ट कार्य गर्ने आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, कुपोषण भएका बालबालिकाका अभिभावक तथा नियमित वृद्धि अनुगमन गराउने परिवारलाई सम्मानपत्रसहित सम्मान गरिएको कार्यक्रमका आयोजकले बताएका छन्।


कार्यक्रममा बोल्दै वडा अध्यक्ष वीरबहादुर आले मगरले घर व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रमा निरन्तर खटिने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले बालबालिका कलिला बिरुवाजस्तै भएकाले उनीहरूको संरक्षण, पोषण र नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै गढवा स्वास्थ्य चौकीबाट २४सै घण्टा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै निःस्वार्थ सेवा गर्ने स्वास्थ्यकर्मीलाई सम्मान आवश्यक रहेको धारणा राख्नुभयो।

सयपत्री स्वास्थ्य आमा समूहकी अध्यक्ष सारब केसीका अभिभावक सबनम केसीले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा स्वास्थ्यकर्मी बिन्दु यादवले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले गर्नुभएको थियो।