तुलसीपुर, ३१ असार ।
दुर्घटनामा परी निधन हुनुभएका शिक्षक खोपीराम अधिकारीको १३ औं दिनको पुण्यतिथिमा श्रद्वाञ्जली सभा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटिको आयोजनामा सभा सम्पन्न भएको हो । जिल्ला कमिटिका अध्यक्ष दामोदर बस्नेतका अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा नगरप्रमुख टीकाराम खड्काले शिक्षक खोपीराम अधिकारी शैक्षिक क्षेत्रका धरोहर भएको बताउनुभयो । उहाँले शिक्षक अधिकारीले शिक्षा क्षेत्रको सुधारका लागि गरेका कार्यहरु स्मरण गर्न लायक रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले नेपालमा सडक दुर्घटनाको विकराल अवस्था रहेकाले न्यूनीकरणमा तीनै तहका सरकारको विशेष ध्यान जानुपर्ने बताउनुभयो ।
सभामा तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले तुलसीपुर ११मा रहेको आधारभूत विद्यालय कटाहामा शिक्षक अधिकारीको सम्झना,सम्मानका लागि स्ट्याचु निर्माण गरिने बताउनुभयो ।नेपाल राष्ट्रिय शिक्षक संगठनका लुम्बिनी प्रदेशका सचिव भागवत पौडेलले शिक्षक अधिकारीको संगठनमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले शिक्षक अधिकारीको परिवारका लागि सहयोगका लागि सदैव संगठन तयार रहेको बताउनुभयो ।
शिक्षक अधिकारी असार १५ गते विद्यालयबाट पढाएर आउनेक्रममा मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो भने उपचारका क्रममा असार १९ गते ५५ वर्षको उमेरमा निधन भएको थियो ।
शिक्षक अधिकारी तुलसीपुर ११मा रहेको आधारभूत विद्यालय कटाहाको प्रधानाध्यापक हुनुहुन्थ्यो । कार्यक्रममा शिक्षक खोपीराम अधिकारीका दाजु फरेन्द्रराज अधिकारीले उहाँको जीवनीका बारेमा जानकारी गराउनुभएको थियो ।
लाइभदाङ । ३१ असार २०८०, आईतवार १७:१४ बजे