
दाङ, ७ जेठ ।
विशेषगरी थारू समदायमा बढी मात्रमा देखिने गरेको सिकलसेल एनिमिया रोगको पहिचानका लागि घोराही उपमहानगरपालिका–१२ निवासी उर्मिला चौधरीले बुधवार रक्त परीक्षण गराइन् । घोराही उपमहानगरपालिका–१० स्थीत सिद्धरत्ननाथ माध्यामिक विद्यालयमा आयोजना गरिएको शिविरमा आफूमा रोगको संक्रमण छ कि छैन भनी पहिचान गर्न रक्त परीक्षण गराएको बताइन् ।
थारू समुदायमा देखिने गरेको रोगबाट बच्नका लागि परीक्षण गराउन शिविरमा आएको भन्दै उनले भनिन,‘परीक्षणका लागि रगत दिएकी छु, रिपोर्ट आएपछि ढुक्क हुनेछु ।’ शिविरमा आफ्नो श्रीमानलाई साथ लिएर आउनुभएकी घोराही उपमहानगरपालिका–११ चाघु निवासी कमारी चौधरीको अनुभव भने फरक रहेको छ । तीन वर्षअघि हातखुट्टा दुख्ने र अत्यधिक थकान महसुस हुन थालेपछि उपचारका लागि घोराहीको बुद्ध अस्पताल पुगेकी उनलाई त्यहाँ उपचार सम्भव नभएपछि कोहलपुर हुँदै भारतसम्म धाउनु परेको थियो ।
तथापि रोगको सही निदान हुन सकेन । अन्ततः काठमाडौंको शिक्षण अस्पतालमा उपचार गराउँदा सिकलसेल एनिमिया भएको पुष्टि भएपछि उनी नियमित उपचारसँगै शरीरमा रगत चढाउँदै आएकी छिन् । ‘रोग पहिचानका लागि कति ठाउँ धाउनु प¥यो, कति दुःख पाइयो । अहिले नजिकैमा शिविरको आयोजना भएकोमा खुसी छु’,शिविरमा आएकी चौधरीले भनिन्,‘आफूले विगतमा पाएको दुःख अरूले नपाउन भनेर शिविरमा श्रीमान्लाई परीक्षणका लागि लिएर आएको छु, परीक्षण पछि श्रीमान् पनि ढुक्क हुनुहुनेछ ।’
उनीहरू जस्तै सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचानका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा बुधवार घोराहीका दुई स्थानामा आयोजना गरिएको सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको पहिचानका लागि बृहत् परीक्षण तथा परामर्श शिविरमा १८ सय बढीले रक्त परीक्षण गराएका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित सिद्धरत्नानाथ माध्यमिक विद्यालय र घोराही–७ स्थित माध्यमिक विद्यालय सौडियारमा आयोजना गरिएको शिविरमा एक हजार आठ सय ४८ जनाको रक्त परीक्षण गरिएका हुन । जसमा सात सय दुई जना पुरुष र एक हजार एक सय ४६ जना महिला रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख एवम् निर्देशक तथा सह-प्राध्यापक डा. सुरेश रसाइलीले जानकारी दिनु भएको छ ।
प्रतिष्ठानका निर्देशक डा। रसाइलीका अनुसार सिद्धरत्नानाथ मावि नारायणपुरमा सात सय नौ जना महिला र तीन सय ८८ जना पुरुष गरी एक हजार ९७ जना तथा श्री माध्यमिक बिद्यालय घोराही ७ सौडियारमा चार सय ३७ जना महिला र तीन सय १४ जना पुरुष गरी सात सय ५७ जनाको परीक्षण गरिएको हो । सिकलसेल रोग कुनै जाति विशेषमा मात्र सीमित नभए पनि विशेषगरी थारू समुदायमा बढी देखिने भएकाले उक्त समुदायलाई प्राथमिकतामा राखेर परीक्षण गरिएको डा। रसाईलिले बताउनु भयो ।
सिकलसेल एनिमिया रोगबाट बच्नका लागि पूर्व तयारी नै सबैभन्दा ठुलो उपचार भएको भन्दै उहाँले ढुक्क सँग नडराएर परीक्षण गराउन आग्रह गर्नुभयो । शिविरको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीले रोगबाट बच्नका लागि समयमै सचेत हुनु पर्ने भन्दै निःशुल्क रूपमा आयोजना गरिएको शिविरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।
घोराही–१० का वडा अध्यक्ष दीपक पाण्डेयको अध्यक्षतामा भएको शिविरको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख एवम् निर्देशक डा. रसाइलीले रोगबारे विस्तृत जानकारी दिनु भयो । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले गर्नु भयो ।



लाइभदाङ । ७ जेष्ठ २०८३, बिहीबार ११:५१ बजे