
दीपक बोहरा
दाङ, ७ जेठ ।
नेकपा(एमाले) महासचिब शंकर पोखरेलले नेपाली कम्युनिष्ट पार्टी(नेकपा)संग पार्टी एकताकोलागि कुनै छलफल नभएको बताएका छन् । प्रेस चौतारी दाङले विहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिब पोखरेलले पार्टी एकताको आबश्यकता बोध पनि नभएको बताए । “ पार्टीका एकताका विषयमा छलफल गरिरहेका छैनौं, आबश्यकता पनि बोध गरिरहेका छैनौ”,उनले भने“समग्र लोकतान्त्रिक शक्तिहरुबीच कार्यगत एकताको कुरा भने गरिरहेकाछौ ।”
सरकारलाई अधिनायकबाद तर्फ उन्मुख भइरहेको भन्दै यसलाई रोक्नकालागि लोकतान्त्रिक शक्तिहरुबीचको कार्यगत एकताकालागि भने छलफल भइरहेको उनको भनाई छ । पछिल्लो समय सरकारप्रति जनतामा बढ्दै गएको भय, त्रासको वातावरण कम गर्न तथा खोसिदै गएका लोकतान्त्रिक अधिकारलाई पुनस्र्थापन गर्नकालागि प्रमुख राजनीतिक दलको एकता आबश्यक पर्ने उनको भनाई छ ।
साथै उनले एमालेमा पुर्नजागरण र पुर्नगठनको आबश्यकता समेत बोध भइरहेको बताए । “हामी समीक्षाको चरणमा प्रवेश गरेका छौं, हामी अहिले कुनै नेता विशेषको विरुद्धमा पनि गएका छैनौं”,उनले भने ‘समीक्षाले निष्कर्ष के निकाल्दछ । त्यसकै अधारमा के गर्दा भगिवष्यमा पार्टी बलियो हुन्छ । त्यो हिसाबले पार्टीलाई नया ढंगले अगाडी बढाउनु पर्छ, भन्ने तिर लागेका छौं ।” अध्यक्षमा केपी वलीको विकल्प खोज्नु पर्छ, भन्ने तर्फको बहसमा आफूहरु नलागेको समेत उनको भनाई थियो ।
साथै उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन चाहेपछि सदस्ता दिएको समेत बताए । “सामान्यतया राष्ट्रपति, उपराष्ट्रपति पदमा रहेकाहरु राष्ट्रको साझा अभिभावकको रुपमा रहनु पर्छ, भन्ने मान्यता हो”,उनले भने“तर, आफै राजनीतिमा फर्किन्छु भनेपछि त्यसलाई छेक्न सकिदैन ।”
साथै महासचिब पोख्रेलले यो सरकार संसदप्रति उत्तरदायि नभएको समेत बताए । हरेक सरकार संसदप्रति उत्तरदायि हुनुपर्नेमा अहिलेको सरकार संसददेखि भागिरहेको भन्दै यसले मुलुकलाई सही ढंगमा लैजानु कुरामा शंकास्पद रहेको बताए । त्यस्तै पछिल्लो समय गरिएका राजनीतिक नियुक्तीहरु पनि प्रायः सेनाबाट अवकासप्राप्त अधिकृतहरुलाई दिईएको भन्दै यसले मुलुकलाई कता लैजादैछ, भन्ने प्रश्न समेत उठिरहेको बताएका छन् ।
भारत र चीनले नेपाली भूमि हुँदै कैलास मानसरोबर जाने बाटोको विषयमा सहमति गर्दा पनि नेपालले कुनै कुराको प्रतिक्रिया दिन नसक्नु पनि गलत रहेको महासचिब पोख्रेलको भनाई छ । विद्यार्थी संगठन, कर्मचारी संगठन तथा सुकुम्वासीहरुप्रति गरिएको प्रहारले गर्दा पुरानै राजनीतिक दलको खोजी भइरहेको समेत महासचिब पोखरेलको भनाई छ ।
यसरी सरकार अधिनायकबाद तर्फ उन्मुख भइरहेको भन्दै यसमा जनताले समयमै खबरदारी गर्नुपर्ने बताए । यदि जनता चुप लागेमा नयाँ जनादेशका नाममा मुलुक अपहरीत हुने समेत उनको भनाई थियो ।



लाइभदाङ । ७ जेष्ठ २०८३, बिहीबार ११:५२ बजे