स्थापना दिवसमा सेवाश्रम पुग्यो होटल व्यवसायी समिति, आश्रितलाई भोजन वितरण

देउखुरी,५ जेठ
लमही होटल व्यवसायी समितिले आफ्नो ७ औँ स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै राप्ती गाउँपालिका–८ पिपरीस्थित निलसागर सेवा आश्रममा आश्रित सडक मानव, वृद्धवृद्धा, अपांग तथा अशक्त व्यक्तिहरूलाई सन्तुलित भोजन वितरण गरेको छ । मंगलबार समितिका पदाधिकारीहरू आश्रममै पुगेर भोजन वितरण गर्नुका साथै आश्रितहरूसँग समय बिताएका थिए । कार्यक्रममा समितिका पदाधिकारी, स्थानीय समाजसेवी तथा सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो ।

निलसागर सेवा आश्रमका अध्यक्ष गरिबु चौधरीको अध्यक्षता तथा लमही होटल व्यवसायी समितिका अध्यक्ष हिमन्त प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्नु सकारात्मक र उदाहरणीय कार्य भएको बताउनुभयो ।


उहाँले समाजका कमजोर, असहाय तथा संरक्षणको आवश्यकता भएका व्यक्तिहरूप्रति सहयोग र सहानुभूति अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले मानवता, सहकार्य र सामाजिक एकताको भावना बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । “हामीले व्यवसाय मात्रै होइन, समाजप्रतिको दायित्व पनि बुझ्नुपर्छ,” अध्यक्ष पाण्डेले भन्नुभयो, “यस्ता सामाजिक सहयोगमूलक कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्छन् । आगामी दिनमा पनि यस्ता मानवीय गतिविधिलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ ।”

कार्यक्रमअन्तर्गत सेवाश्रममा आश्रित व्यक्तिहरूलाई पोषणयुक्त तथा सन्तुलित भोजन वितरण गरिएको थियो । यस प्रकारका कार्यक्रमले आश्रितहरूको दैनिक जीवनमा केही राहत पुग्नुका साथै समाजमा सेवा भाव र मानवीय संवेदनाको विकास हुने विश्वास गरिएको छ । कार्यक्रमको सहजीकरण समितिका सचिव राजेन्द्र पाण्डेले गर्नुभएको थियो ।