
प्रिया स्मृती गजमेर
देउखुरी,५ जेष्ठ ।
लमही नगरपालिका आजदेखि औपचारिक रूपमा “पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषणा भएको छ । पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पु¥याउने, खोप छुटेका बालबालिकाको पहिचान गरी पूर्णखोप सुनिश्चित गर्ने तथा खोप कार्यक्रमलाई दिगो बनाउने उद्देश्यका साथ आयोजित एक विशेष कार्यक्रमका बीच लमही नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदायस्तरमा नियमित खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेपछि आवश्यक सूचकहरू पूरा भएको आधारमा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षासँग जोडिएको महत्वपूर्ण अभियान भएको बताउनुभयो । उहाँले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन र विभिन्न रोगहरूबाट बालबालिकालाई सुरक्षित राख्न ठूलो भूमिका खेलेको उल्लेख गर्दै स्थानीय तह, स्वास्थ्यकर्मी र अभिभावकबीचको सहकार्यकै कारण यो उपलब्धि सम्भव भएको धारणा राख्नुभयो ।
उहाँले खोप अभियानलाई निरन्तर प्रभावकारी बनाउन समुदायस्तरमै सचेतना आवश्यक रहेको बताउँदै प्रत्येक अभिभावकले आफ्ना बालबालिकालाई समयमै खोप लगाउने जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो । “पूर्णखोप सुनिश्चितता घोषणा गर्नु उपलब्धि हो तर यसलाई दीगो बनाइराख्नु अझ ठूलो चुनौती हो,” उहाँले भन्नुभयो, “यसका लागि सबै पक्षको निरन्तर सक्रियता आवश्यक छ ।”
त्यसैगरी लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमही नगरपालिकाले स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले नगरपालिकाले दुर्गम बस्तीका बालबालिकासम्म खोप सेवा पु¥याउन विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
नगर प्रमुख चौधरीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा नगरपालिकाको सामूहिक उपलब्धि भएको उल्लेख गर्दै यसमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय, जनप्रतिनिधि तथा स्थानीय समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“खोप प्रत्येक बालबालिकाको अधिकार हो,” उहाँले भन्नुभयो, “नगरपालिकाले कुनै पनि बालबालिका छुट्न नदिने गरी नियमित अनुगमन र अभिलेखीकरण प्रणालीलाई अझ प्रभावकारी बनाउनेछ ।” उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरूलाई समाधान गर्न स्थानीय तहले आवश्यक बजेट व्यवस्थापन गर्दै गुणस्तरीय सेवा विस्तारमा जोड दिइरहेको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख लक्ष्मी योगीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानमा महिला स्वास्थ्य स्वयंसेविका र आमाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बालबालिकाको स्वास्थ्य सुरक्षामा आमाको सचेतना नै मुख्य आधार भएको उल्लेख गर्दै समयमै खोप लगाउने बानीले भविष्यमा धेरै रोगबाट जोगाउन सकिने धारणा राख्नुभयो ।
उपप्रमुख योगीले खोप अभियानलाई घरघरमा पु¥याउन महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभयो । उहाँले नगरपालिकाले बालबालिका र आमाहरूको स्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख नारायण प्रसाद शर्माले पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानअन्तर्गत पालिकाले पूरा गरेका सूचक, खोप कार्यक्रमको अवस्था तथा आगामी योजनाबारे जानकारी गराउनु भयो । नियमित खोप सेवाबाट बालबालिकालाई पोलियो, दादुरा, क्षयरोग, हेपाटाइटिस लगायतका विभिन्न रोगबाट सुरक्षित राख्न सकिने उहाँको भनाई छ । लमही नगरपालिकाको १ देखि ९ नम्बर वडालाई पूर्णखोप सुनिश्चितता वडा प्रमाणपत्र प्रदान गरिएको छ ।
लमही नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएसँगै अब खोप कार्यक्रमलाई अझ प्रभावकारी, नियमित र दिगो बनाउने दायित्व थपिएको छ । लमही नगरपालिकाले चालु आर्थिक वर्षमा ४ हजार ९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो । तीमध्ये ३ हजार ६ सय ६० जना बालबालिकाको घरभेटमार्फत खोप लगाए र नलगाएको अवस्थाबारे सुनिश्चितता गरिएको स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो । वरिष्ठ अस्पताल नर्सिङ्ग निरीक्षक मिना शर्मा भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले गर्नु भएको थियो ।



लाइभदाङ । ५ जेष्ठ २०८३, मंगलवार १४:१७ बजे