गढवामा ७ दिने होमस्टे व्यवस्थापन तालिम सुरु, स्थानीयलाई व्यवसायसँग जोड्ने लक्ष्य

आलोक भावुक
गढवा,५ जेठ ।
दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थानीय नागरिकलाई स्वरोजगार तथा पर्यटन व्यवसायसँग जोड्ने उद्देश्यले ७ दिने होमस्टे व्यवस्थापन तालिम सुरु गरेको छ। गढवा गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा सुरु भएको तालिममा वडा नम्बर २, ३ र ६ का ३७ जना सहभागी रहेका छन्। गाउँपालिकामा थारु तथा मगर समुदायमा आधारित होमस्टे सञ्चालनको सम्भावना बढ्दै गएपछि इच्छुक स्थानीयलाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले जानकारी दिनुभयो।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै शारदाकुमारी चौधरीले स्थानीय स्तरमै व्यवसायिक अवसर सिर्जना गर्न गाउँपालिकाले होमस्टे व्यवस्थापन तालिम सञ्चालन गरेको बताउनुभयो। उहाँले होमस्टे सञ्चालनबाट स्थानीय संस्कृति संरक्षणसँगै आर्थिक आयआर्जनमा समेत टेवा पुग्ने उल्लेख गर्नुभयो। “गाउँपालिकाभित्र रहेका प्राकृतिक, सांस्कृतिक तथा परम्परागत सम्पदालाई पर्यटनसँग जोडेर स्थानीयलाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो,” उपाध्यक्ष चौधरीले भन्नुभयो, “होमस्टे सञ्चालनले गाउँपालिकालाई अप्रत्यक्ष रूपमा फाइदा पुग्नुका साथै सञ्चालकको जीवनस्तर सुधारमा पनि सहयोग पुग्नेछ।”


तालिमका प्रशिक्षक भुमराज तिवारीले होमस्टे केवल बसोबासको व्यवस्था मात्रै नभई स्थानीय संस्कृति, परम्परा र आतिथ्यतालाई पर्यटकसमक्ष प्रस्तुत गर्ने माध्यम भएको बताउनुभयो। उहाँले व्यवस्थित सञ्चालन, सरसफाइ, स्थानीय खानाका परिकार, पाहुना सत्कार तथा प्रचारप्रसारका विषयमा सहभागीलाई व्यावहारिक ज्ञान प्रदान गरिने जानकारी दिनुभयो। “गाउँमा उपलब्ध स्रोत र संस्कृतिलाई उपयोग गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ,” प्रशिक्षक तिवारीले भन्नुभयो, “तालिमपछि सहभागीहरूले व्यवस्थित र आकर्षक होमस्टे सञ्चालन गर्न सक्ने विश्वास लिएको छु।”
कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता विनु भुजेलले गर्नुभएको थियो।