माघीको रौनकः गाउँ–गाउँमा बन्दैछन्, ढिक्री, लाग्दैछन् माघ महोत्सव

दाङ, २२ पुस ।
माघ महिना नजिकिदै गर्दा दाङका थारु समुदायमा माघ पर्वको रौनक बढ्दैछ । थारु समुदायमा अहिले ढिक्री, घुँङी,अचार बनाउन ब्यस्त देखिन्छन् । यी परिकार थारु समुदायका प्रसिद्ध परिकार हुन् । त्यति मात्रै होईन्, गाउँ–गाउँमा माघ महोत्सवहरु चलिरहेका छन् ।

महिलाहरु सट्की,लेहेँगा, झालर जस्ता पोशाकमा सजिएका हुन्छन्, भने पुरुषहरु भेग्वासहितका पोशाकमा सजिएर नाचगान गरिरहेका हुन्छन् । सरकारी स्तरबाट होस्, वा गाउँका समूहरु अहिले सामूहिक रुपमा सांस्कृतिक कार्यक्रम गरिरहेका हुन्छन् । माघौटा, महोत्या नाचले गाउँहरु गुन्जिरहेका हुन्छन् । खास गरि माघीमा मघौटा र महोत्या नाच नाच्ने गरिन्छ ।

थारु समुदाय संस्कार तथा संस्कृतिका हिसाबले धनी समुदाय भएकाले पनि यसलाई संरक्षण गर्न नयाँ पुस्ता पनि सक्रिय नै देखिन्छन् । त्यसको उदाहरण शनिबार मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ ले आयोजना गरेको वडा स्तरीय माघी विशेष कार्यक्रम थारु समुदायका युवा पुस्ताले देखाएका थारु नाचले प्रष्ट पार्दछ ।

थारु समुदायका युवाहरुले आफ्नो समुदायको पोशाकमा बिभिन्न प्रस्तुती राखेका थिए । “थारु समुदायले माघी पर्वलाई नयाँ बर्षका रुपमा मनाउछ”, थारु कल्यानकारी सभाका केन्द्रीय सदस्य रामबहादुर दहितले भने“यसलाई संरक्षण गर्न युवा पुस्ता सक्रिय भएर लाग्नु पर्छ ।”


थारु समुदायले माघीमा नयाँ महतवा फर्ने, बर्षभरिका कामको समीक्षा गर्ने र नयाँ योजना बनाउने गर्छन् । थारु समुदायले हरेक कामहरु सामूहिक रुपमा गर्ने अभ्यासका रुपमा पनि लिइन्छ ।“हामीले हरेक काम मिलेर गछौं, बर्षभरिका कामहरुको समीक्षा गर्ने र नयाँ कामहरुलाई कसरी अगाडी बढाउने भनेर सल्लाह पनि गर्ने गरिन्छ , अगुवा छनौट गर्ने काम पनि हुन्छ”,उनले भने“यसले हरेक समस्या सामूहिक रुपमा हल गर्न मद्दत गर्दछ ।”

विगतमा कमलरी कमैया राख्ने चलन थियो । त्यतिबेला माघीको अवसरमा कमैयालाई विदा दिने चलन पनि थियो । तर, अहिले त्यो प्रथा अन्त्य भइसकेको छ ।

महतवा र सुडेनीलाई सम्मान
थारु समुदायमा प्रत्येक माघीमा महतवा चुन्ने गरिन्छ । ति महतवाले बर्ष भर नेतृत्व गर्छन । त्यस्तै थारु समुदायमै बच्चा जन्माउँदादेखि हेरचाह गर्नेसम्म सुडेनीले काम गर्छन । सुडेनीले नै हेरचाह गर्दा आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।

तिनै सुडेनीहरुलाई तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ ले सम्मान गरेको छ । माघ विशेष सांस्कृतिक कार्यक्रमको अवसरमा उनीहरुले समाजमा खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । त्यस्तै समाजमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै उनीहरुलाई पनि सम्मान गरिएको थियो । त्यस्तै वडा भित्रका खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो ।