
प्रिया स्मृती गजमेर, देउखुरी
दाङ,२६ बैशाख ।
गायक विक्रम जंग थापाले नयाँ गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक गर्नु भएको छ । माया प्रेममा आधारित उक्त गीत भोलूम अन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक थापासँगै लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ । गीतको शब्द दोर्ण अधिकारीले लेख्नु भएको हो भने संगीत कारण न्यौपानेको रहेको छ । गीतलाई कृष्ण केसीले एरेन्ज गर्नु भएको छ ।
गीतको म्युजिक भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ । भिडियोमा स्वयं गायक विक्रम जंग थापा, स्मारिका ढकाल, एन्जिला खत्री, इन्द्र प्रसाद ढकाल र दोर्ण अधिकारीको अभिनय देख्न सकिन्छ । यसअघि पनि गायक थापाका ‘सिनेमाको हिरो’, ‘आज मुड चल्याछ’, ‘झ्याप्प आज भेट भो’, ‘आत्मा जलाई जलाई’ र ‘जोडी जम्छ दामी’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।
दाङको घोराही उपमहानगरपालिका ५ स्थायी घर भएका थापा पछिल्लो समय काठमाडौंलाई केन्द्र बनाएर गीतसंगीत क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य समेत रहनु भएका थापा गायनसँगै उहाँले अभिनय क्षेत्रमा समेत आफ्नो यात्रा अगाडि बढाइरहनु भएको छ ।



लाइभदाङ । २६ बैशाख २०८३, शनिबार २१:३१ बजे