राप्तीमा सर्प उद्धार तथा पुनःस्थापनासम्बन्धी तालिम सम्पन्न

मसुरिया,२४ बैशाख ।
दाङको राप्ती गाउँपालिकाले विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम सञ्चालन गरेको छ। बिहीबार आयोजित तालिममा विषालु तथा अविषालु सर्पको पहिचान, सर्पको टोकाइबाट बच्ने उपाय, उद्धार प्रक्रिया तथा पुनःस्थापनाका विषयमा जानकारी गराइएको थियो।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जैविक विविधताको संरक्षण तथा सर्पलाई पनि प्रकृतिमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले सबै सर्प विषालु नहुने भए पनि सही पहिचानको अभावमा स्थानीयले सर्प देख्नासाथ मार्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न सचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। दिगो व्यवस्थापनको अभाव, सर्प देख्नासाथ मार्ने मानव प्रवृत्ति, सर्प पहिचानसम्बन्धी ज्ञानको कमी, उद्धारका लागि आवश्यक सीप अभाव तथा अनुसन्धान र प्रचारप्रसार न्यून हुँदा सर्प संरक्षणमा चुनौती देखिएको अध्यक्ष विष्टको भनाइ थियो।


कार्यक्रममा प्रशिक्षक तथा सर्प विज्ञ वसन्त सुवेदीले पछिल्लो नौ वर्षमा दाङ जिल्लाबाट मात्रै आफूले छ हजारभन्दा बढी सर्पको उद्धार गरेको जानकारी दिनुभयो। उहाँका अनुसार दाङमा हालसम्म २८ प्रजातिका सर्प फेला परेकामा ७ प्रजाति मात्रै विषालु रहेका छन् भने बाँकी २१ प्रजाति अविषालु छन्। अविषालु सर्पले टोकेमा मानिसको ज्यान नजाने भए पनि विषालु सर्पले टोकेपछि समयमै सावधानी नअपनाउँदा ज्यान जाने जोखिम रहने सुवेदीले बताउनुभयो। उहाँले प्राथमिक उपचारका नाममा ढिलाइ नगरी तत्काल अस्पताल पुर्‍याउन सके सर्पदंशबाट हुने मृत्यु दर घटाउन सकिने उल्लेख गर्नुभयो।

तालिमका क्रममा जीवित सर्प प्रयोग गरेर उद्धारसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो। ६० जना सहभागी कार्यक्रममा सर्पको पहिचान, संरक्षण, उद्धार तथा सुरक्षित व्यवस्थापनसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको गाउँपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख सुवास भट्टराईले जनकारी दिनुभयो।