तुलसीपुरमा २८१७ जनाको परीक्षणमा ५०६ मा मधुमेह

तुलसीपुर, १३ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले पालिका भित्रका दुई हजार ८ सय १७ जनाको स्वास्थ्य परीक्षण गरेको छ । पालिका भित्रका बिभिन्न स्वास्थ्य संस्थामा पुगेर मोटोपन, उच्च रक्तचाप, मधुमेह र पिसाबमा प्रोटिनको मात्रा जाँच गरिएको हो । बरिष्ठ कबिराज निरीक्षक रजनी रोकायका अनुसार तुलसीपुरका ११ वटा स्वास्थ्य संस्थामा पुगेर नसर्ने रोगको स्क्रीनिङ शिविर गरिएको हो । जसमा २ हजार एकसय १६ महिला र ७ सय १ पुरुष गरि जम्मा २ हजार ८ सय १७ जनामा जाँच गरिएको हो ।


जसमध्ये उच्चरक्तचाप ५ सय ३०, मधुमेह ५ सय ६, मोटोपन ९ सय ८० र पिसाबमा प्रोटिन देखिएको दुईसय रहेका छन् । ३० बर्ष माथिका महिला, पुरुष र जेष्ठ नागरिकहरुलाई यसरी स्वास्थ्य परीक्षण गरिएको हो । उच्च रक्तचाप, मधुमेहलगायत बिभिन्न नसर्ने रोगहरुको बारेमा सचेतना बृद्धि गर्न यो कार्यक्रम गरिएको निरीक्षक रोकायको भनाई छ । पछिल्लो समय नगर्ने रोगबाट धेरै नागरिक मारमा पर्ने गरेको भन्दै त्यसलाई न्यूनिकरण गर्न यो कार्यक्रम सुरुवात गरिएको उनको भनाई छ । प्रत्येक १० जनामा एक जनामा मधुमेह र उच्च रक्तचापको समस्या देखिने गरेको छ ।