मजदुर दिवसको अवसरमा राप्तीमा विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

तुलबहादुर कवँर मगर
मसुरिया,१७ बैशाख ।
“१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस” को अवसरमा दाङको राप्ती गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मजदुरहरूलाई लक्षित गर्दै उक्त शिविर सञ्चालन गर्न लागिएको हो।

गाउँपालिकाका अनुसार शिविर २०८३ वैशाख १८ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वडा नं. ५ कालापानी स्थिति राप्ती आधारभूत अस्पतालमा सञ्चालन हुनेछ।


शिविरमार्फत मजदुरहरूलाई स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिनेछ। शिविरमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी परीक्षण, श्रवण शक्ति परीक्षण, रगत तथा पिसाब परीक्षणलगायतका सेवा उपलब्ध हुनेछन्। साथै हाडजोर्नी तथा नसासम्बन्धी समस्याहरूको पनि विशेषज्ञ चिकित्सकबाट परामर्श तथा उपचार गरिने जनाइएको छ। शिविरमा वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. के.बी. श्रेष्ठ, डा. विशेष रेग्मी तथा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा। राजकृष्ण श्रेष्ठलगायतका चिकित्सकहरूको सहभागिता रहनेछ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लक्षित वर्गका मजदुरहरूलाई शिविरबाट अधिकतम लाभ लिन आग्रह गर्दै समयमै उपस्थित भई सेवा लिन आग्रह गर्नु भएको छ।