
प्रिया स्मृती गजमेर
देउखुरी,८ वैशाख ।
लमही नगरपालिकाले १६ औं दाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल खेलाडीहरुलाई औपचारिक कार्यक्रममार्फत स्वागत तथा सम्मान गरेको छ । नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भई उपलब्धि हासिल गरेका खेलाडीहरुको योगदानको कदर गर्दै एक विशेष समारोहका बीच सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरुको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्नुभयो । उहाँले खेलकुद केवल शारीरिक गतिविधि मात्र नभई व्यक्तित्व विकासको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेलले मानिसलाई अनुशासन, धैर्यता र सहकार्यको भावना सिकाउने बताउनुभयो । साथै खेलकुदमार्फत स्थानीय तहको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्याउन सकिने धारणा व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाई प्रेरित गर्नुभयो ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लमही नगरपालिकाको गौरव बढाउने गरी उत्कृष्ट नतिजा ल्याएकोमा खेलाडीहरूप्रति गर्व व्यक्त गर्दै भविष्यमा पनि यस्तै सफलता हासिल गर्न निरन्तर प्रयासरत रहन आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग र प्रोत्साहन जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा लमाहे नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा लमही नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले पनि खेलाडीहरुको उपलब्धिको प्रशंसा गर्दै यस्ता सम्मान कार्यक्रमले खेलाडीहरुको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नु भयो । खेलकुद क्षेत्रलाई थप व्यवस्थित र सुदृढ बनाउन स्थानीय तहले दीर्घकालीन योजना बनाउनु आवश्यक रहेको उहाँको भनाई छ ।लमही नगरपालिकाको प्रतिनिधित्व गर्दै टोलीले समग्र खेलमा सहभागी भएर ६ स्वर्ण, ९ रजत ६ कास्य पदक गरि २१ पदक जित्न सफल भएको थियो । घोराही उपमहानगरपालिका प्रथम र तुलसीपुर उपमहानगरपालिका दोस्रो भएका थिए ।
१६ औं दाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको व्यवस्थापन संयोजक रोबर बहादुर केसी, खेल प्रशिक्षक दीपेन्द्र बस्नेत, ऋषिराज चौधरी लगायतलाई पनि सम्मान गरिएको छ । स्वागत तथा सम्मान कार्यक्रमको सहजीकरण शिक्षा शाखाका अम्बिका शर्माले गर्नु भएको थियो ।



लाइभदाङ । ८ बैशाख २०८३, मंगलवार २१:३२ बजे