तुलसीपुरका चौधरीमाथि लुटपाट गर्ने चार जना पक्राउ

तुलसीपुर, ३१ जेठ ।
तुलसीपुर उपमहानगरपालिका–७ का राजु चौधरीमाथि लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जेठ २९ गते राति साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवास्थित आइसक्रिम फ्याक्ट्री नजिकै चौधरीमाथि लुटपाट भएको थियो ।

तुलसीपुर बसपार्कबाट घरतर्फ मोटरसाइकलमा जाँदै गरेका तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय चौधरीलाई अपरिचित व्यक्तिहरूले लुटपाट गरेको प्रहरीले जनाएको छ । अपरिचित ब्यक्तिले मोटरसाइकल रोकी चौधरीसंग ‘तपाईको मोबाईल दिनुहोस् एक कल फोन गर्छु मेरो मोबाइलमा ब्यालेन्स छैन’ भनि मोबाइल मागेका थिए। राजुले मोबाइल दिएलगत्तै ४/५ जना युवाहरु आएर बिमा तिर्न साथमा रहेको नगद ३९ हजार रुपैया, लाइसेन्स, ब्लुबुक र प्रेस कार्ड खोसेर फरार भएका थिए ।

पीडित चौधरीले जेठ ३० गते बिहान सवा ८ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– ४ का १५ वर्षका धनिराम बिक, तुलसीपुर उपमहानगरपालिका–३ का १५ वर्षका बिशाल पोख्रेल, तुलसीपुर उपमहानगरपालिका–४ का बस्ने २३ वर्षका कुमार केसी र सोही ठाउँका २१ वर्षका नन्दे भन्ने शिरिस परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सुर्य रानाले जानकारी दिए ।

पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।