दाङमा १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

दाङ,४ बैशाख ।
दाङ जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शुक्रबारदेखि तुलसीपुर उपमहानगरपालिका–१७ स्थित बेलझुण्डी रंगशालामा लुम्बिनी प्रदेशका जलस्रोत उर्जा तथा सिँचाइ मन्त्री सीता चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा मन्त्री चौधरीले खेल क्षेत्रको विकासकालागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले खेल क्षेत्रकालागि उल्लेख्य बजेट नहुँदा समस्या रहेको बताउनुभयो । खेल क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द पौडेलले तीनै तहका सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, एथलेक्टीस, भलिबल र कबड्डी खेल समावेश गरिएको दाङ जिल्ला खेलकुद विकास समितिका प्रमुख राकेश परियारले जानकारी दिनुभयो । उहाँका अनुसार आज तेक्वान्दो तर्फको पुम्से विधा, एथलेक्टीस तर्फको १ हजार ५ सय मिटर दौड, करातेको काता तर्फको खेल, भलिबल, कबड्डी र उसु तर्फका खेल सम्पन्न भएको छ । प्रतियोगितामा दाङका दशवटै पालिकाका खेलाडीहरुको सहभागिता रहेको छ । खेल तिन दिनसम्म चल्ने छ ।