एकीकृत समाजवादी दाङको अध्यक्षमा केसी

दाङ, ५ जेठ ।
नेकपा एकीकृत समाजवादी दाङको पार्टी पुनर्गठन गरिएको छ । शुक्रबार पार्टीको घोराहीमा भएको  विशेष जिल्ला भेलाले भूपबहादुर केसीको अध्यक्षतामा १ सय ७१ जना जिल्ला कार्यसमिति चयन गरेको हो । पुनर्गठित एकीकृत समाजवादी दाङको उपाध्यक्षमा डिल्लीबहादुर पुन, गणेशकुमार चौधरी र विष्णु गुरुङ, सचिवमा जानका रेग्मी, उपसचिवमा डिल बहादुर पुन, सूर्य विसी र प्रेम बुढामगर रहेका छन् ।

भेलाले कार्यालय सचिवमा गजेन्द्रसिंह खड्कालाई चयन गरेको छ । भेलाले जिल्लाका एक सय वडाबाट प्रतिनिधित्व गर्नेगरी एक/एक जना, प्रत्येक निर्वाचन क्षेत्र, जनवर्गीय सङ्गठनमा एक/एक जनालाई जिल्ला कमिटी सदस्य बनाउने निर्णय गरेको नवगठित पार्टीका जिल्ला अध्यक्ष भूपबहादुर केसीले बताए ।


साथै विशेष जिल्ला भेलाले पार्टीको हितविपरीत गतिविधिमा संलग्न भएको र स्पष्टीकरण माग गर्दा नदिएकाले पार्टीका जिल्ला अध्यक्ष सुरामणि बेल्बासे, उपाध्यक्ष शोभा शाह र सचिव डिल्ली डाँगीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएको छ । विशेष जिल्ला भेलालाई  पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री मेटमणि चौधरी, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे लगायतले सम्बोधन गरेका थिए ।