
दाङ,४ बैशाख।
दाङको तुलसीपुर उपमहानगरपालिका–१५ करंगा चोकमा कृषि हाट बजार केन्द्र सञ्चालनमा आउने भएको छ । “हाम्रो हाट बजार, स्थानीय उत्पादनको भण्डार” भन्ने नारासहित सञ्चालनमा आउन लागेको उक्त केन्द्रले स्थानीय किसानका उत्पादनलाई सहज बजार उपलब्ध गराउने उद्देश्य राखेको छ ।
तुलसीपुर–१५ मलवारमा रहेको मलवार कृषि सहकारी संस्था र तुलसीपुर–१४ करङ्गामा रहेको गुहारखोला कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा हाट बजार केन्द्र सञ्चालन गर्न लागिएको हो ।
स्थानीय स्तरमा उत्पादन हुने तरकारी, फलफूल लगायत कृषि उपजलाई व्यवस्थित रूपमा बिक्री–वितरण गर्न हाट बजार सञ्चालनमा ल्याउन लागिएको गुहारखोला कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मणकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार केन्द्र सञ्चालनमा आएपछि किसानहरूले आफ्ना उत्पादन उचित मूल्यमा बिक्री गर्न सक्नेछन् ।
बजारको अभावका कारण किसानहरू बिहान सबेरै उठेर तुलसीपुर बजारसम्म धाउनुपर्ने समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ । हाट बजारमा काक्रा, फर्सी, लौका, भिन्डी, बोडी, टमाटर, खुर्सानी लगायत तरकारी तथा चना, केराउजस्ता दलहन बालीहरू बिक्रीका लागि राखिनेछन् ।
हाट बजारले तुलसीपुर–१४, १५ र १२ का कचिला, कचिली, गरगरे, हरीपौरी लगायत गाउँका किसानलाई समेट्ने लक्ष्य लिएको छ । स्थानीय उत्पादनलाई बाहिरी जिल्लासम्म पुर्याउने दीर्घकालीन योजना समेत रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
उपभोक्ताले ताजा तथा गुणस्तरीय कृषि सामग्री सहज रूपमा प्राप्त गर्न सक्ने छन् । सुरुवाति चरणमा हाट बजार प्रत्येक शनिबार बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ भने पछि बिस्तारै यसको आकर्षण बढ्दै गएपछि मागअनुसार विस्तार गरिने योजना रहेको जनाइएको छ । हाट बजारमा ५ सयभन्दा बढी किसानको सहभागिता रहने बताइएको छ । यसैबीच, कृषि हाट बजार केन्द्रको औपचारिक उद्घाटन भोलि शनिबार बिहान ७ बजे गरिने आयोजकले जनाएको छ ।
कृषि सहकारी संस्थाहरूको सक्रियतामा सञ्चालनमा आउन लागेको हाट बजारले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन, कृषकलाई आत्मनिर्भर बनाउन तथा कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



लाइभदाङ । ४ बैशाख २०८३, शुक्रबार १९:३० बजे