रोल्पामा गुडिरहेको बसबाट खस्दा एक जनाको मृत्यु

रोल्पा, ३ वैशाख ।
रोल्पामा गुडिरहेको बसबाट खस्दा एक जना युवकको मृत्यु भएको छ । शहिदमार्ग अन्तर्गत रुन्टिगढी गाउँपालिका वडा नं. ७ खर्चेमा बुधबार बिहान भएको दुर्घटनामा २२ वर्षीय ओपीलाल घर्तीको मृत्यु भएको हो ।

रोल्पा प्रहरीका अनुसार बान्द्रेबाट दाङतर्फ जाँदै गरेको रा १ ख ३१८६ नम्बरको जन्ती बोकेको बसको ढोकाबाट खसेर रुन्टिगढी–७ धवाङ निवासी घर्ती गम्भीर घाइते हुनुभएको थियो । उहाँको टाउकोमा गहिरो चोट लागेको थियो ।


गम्भिर घाइते घर्तीलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दुर्घटनामा परी धवाङकै २३ वर्षीय नबिन खड्का सामान्य घाइते हुनुभएको छ । उहाँको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारपछि डिस्चार्ज हुनुभएको छ । २७ वर्षीय धन बहादुर घर्तीले चलाएको उक्त बसमा सवार अन्य यात्रीहरू भने सुरक्षित रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।