चोरी कार्यमा संलग्न २४ जना पक्राउ

तुलसीपुर,३१ भदौ ।
तुलसीपुर प्रहरीले चोरी कार्यमा संलग्न २४ जनालाई पक्राउ गरेको छ । तुलसीपुर बजार क्षेत्रमा पछिल्लो समय चोरीको विगविग रहेको समयमा तुलसीपुर प्रहरीले चोरी कार्यमा संलग्न २४ जनालाई पक्राउ गरेको हो ।

चोरी कार्यमा संलग्न रहेकाहरु एकपटक धेरै संख्यामा पक्राउ परेपछि अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा ठाउँको अभाव भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लका अनुसार उक्त चोरहरुलाई केही दिनको अन्तरालमा पक्राउ गरिएको हो ।


पक्राउ परेकाहरु १० वर्षदेखि ४५ वर्ष उमेरसम्मका रहेको डिएसपी मल्लले बताए । पक्राउ परेकाहरु मध्य कुखुरा चोरदेखि सुन चोरसम्मको चोरी कार्यमा संलग्न रहेको पाइएको छ । पक्राउ परेकाहरुको म्याद थप पछि छिट्टै सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ ।

चाडपर्व नजिकिदै गर्दा तुलसीपुर बजार क्षेत्रमा यसअघि पनि चोरीको घटना हुने गरेका थिए । यद्यपी यसपटक भने यस क्षेत्रमा चोरी कार्य नहोस् भनेर प्रहरीले पूर्व तयारी थालेको उनले बताए ।