
काठमाण्डौँ,२६ चैत ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रको पठनपाठन वैशाख २१ देखि सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार मन्त्रालयले शैक्षिक सत्र २०८३ को भर्ना अभियान १५ वैशाखबाट सुरु गर्न र नियमित पठनपाठन २१ वैशाखबाट सुरु गर्न संस्थागत र सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो।
२२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले ०८३ को शैक्षिक सत्र १५ वैशाखबाट सुरु गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि अभिभावक, विद्यालय र विद्यार्थीमा भर्ना र नियमित पठनपाठनबारे अलमल थियो। विद्यालयहरू १५ वैशाखदेखि भर्ना अभियान वा पठनपाठन गर्ने भन्नेबारे अलमल थिए। मन्त्रालयले विज्ञप्ति जारी गर्दै त्यसलाई स्पष्ट पार्दै २१ वैशाखदेखि नियमित पठनपाठन सुरु हुने बताएको हो।
मन्त्रालयले २ वैशाखदेखि प्रवर्धनात्मक तथा विद्यार्थी र शिक्षकहरूलाई रचनात्मक शैक्षिक कार्यहरू गराउनसमेत अनुरोध गरेको छ। जसमा शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका, शैक्षणिक योजना निर्माण तयारी गर्ने, विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने, शिक्षकको पेसागत क्षमता विकासका कार्यहरू सञ्चालन गर्ने, विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माणलगायत छन्।



लाइभदाङ । २६ चैत्र २०८२, बिहीबार १८:५८ बजे