गहेन्द्र गिरीको ‘कमब्याक’ ले एक होला काँग्रेस ?

दीपक बोहरा
तुलसीपुर ।
काँग्रेस बृतमा अहिले चर्चा हुने एउटा विषय हो–गेहेन्द्रको ‘कमब्याक’ । गेहेन्द्र केन्द्रीय सदस्य निर्वाचित भएपछि दाङमा देखिएको काँग्रेस भित्रको समस्या हल हुने कार्यकर्ताहरुले अपेक्षा गरेका छन् । किनकी जिल्लाका सिनियर नेता मध्येका हुन् गेहेन्द्र गिरी । यस अघिका दुई महाधिवेशनबाट जिम्मेवारी विहीन बन्दै आएका थिए ।

जिल्लाका पूर्वसभापति र पूर्व सांसद समेत रहेका गिरी पार्टीको जिम्मेवारी विहीन हुने र उनको समूहलाई नसमेट्ने अबस्था थियो । त्यसले गर्दा दाङमा हुने गरेको दुई धारको अस्वस्थ प्रतिष्पर्धाले आम निर्वाचनमा काँग्रेसलाई निकै असर पु¥याउने गरेको थियो । एउटा असर काँग्रेसको बलियो मानिने तुलसीपुरमै मेयरमा गेहेन्द्र गिरीले हार्नुलाई लिइएको छ । खास गरि गेहेन्द्र गिरी र दीपक गिरी (दाजुभाई)बीचको लडाई नै काँग्रेस दाङका देखिएको एउटा लडाई हो । गेहेन्द्र गिरी स्व. खुमबहादुर खड्कासंग नजिक रहेका पात्र हुन्, भने दीपक कोइराला परिवारसंग नजिक छन् ।

खुमबहादुरको निधन पछि गेहेन्द्र अहिले उनी देउवा निकट छन् । अब दाङमा खुमबहादुर खड्काको विरासत आफूले जोगाउने प्रतिबद्धता जनाए । केन्द्रीय सदस्य बनेर दाङ आएपछि स्वागत गर्न लस्कर लागेका कार्यकर्तालाई भने‘खुमबहादुर खड्काको निधनपछि हामी कता जाने, के गर्ने भन्ने थियो, अब म केन्द्रीय सदस्य बनेर आएको छु, अब खुमबहादुर खड्काको विरासत मैले धान्छु ।’ उनले यो भनिरहदा कार्यकर्ता निकै उत्साहित थिए । किनकी १४ बर्ष पछि गेहेन्द्र गिरी पार्टीको एउटा शक्तिशाली नेताका रुपमा आएका छन् । दुई कार्यकाल जिल्ला सभापति भएपछि उनलाई केन्द्रीय सदस्य बन्ने इच्छा थियो । तर, उनलाई त्यो अनुकूल अहिलेसम्म परेको थिएन । १२ औं महाधिवेशनमा उनी क्षेत्रीय प्रतिनिधि समेत हुन सकेनन् । उनलाई वडाबाटै हार्ने स्थिति बनेको थियो ।

त्यसपछि १३ औँं महाधिवेशनमा पनि उनी महाधिवेशन प्रतिनिधि निर्वाचित हुन सकेनन् । महाधिवेशन प्रतिनिधि विजयी हाँसिल नगरेकै कारण पूर्व सांसद तथा जिल्ला सभापति भइसकेका ब्यक्ती पुनः तुलसीपुर नगरको सभापति हुनुपर्ने बाध्यता आएको थियो । त्यतिबेला उनी क्षेत्रीय प्रतिनिधि निर्वाचित भएपनि महाधिवेशन प्रतिनिधिमा हारेका थिए । अहिले भने उनी काँग्रेसको केन्द्रीय सदस्य नै निर्वाचित भएर आएपछि १४ बर्ष पछि पार्टीको शक्ति केन्द्रमा छाएका छन् । उनको यो ‘कमब्याक’ले अब पार्टी भित्र एकता मजवुत हुन्छ, वा झन द्वन्द फैलिन्छ, भन्ने कोणबाट कार्यकर्ताहरुले आँकलन गर्न थालेका छन् । काँग्रेसका एक नेता भन्छन्‘पहिले गेहेन्द्रलाई पार्टीमा अगाडी बढ्नै नदिने प्रबृति थियो, अहिले जबरजस्ती रुपमा केन्द्रीय सदस्य आइसक्नु भयो, अब ‘चेक एण्ड ब्यालेन्स’का रुपमा अघि बढ्छ ।’

तर, केही कार्यकर्ताले भने पहिले भन्दा पनि अझ उग्र रुपमा अघि बढ्ने आँकलन गर्ने गरेका छन् । नाम नबताउने सर्तमा एक कार्यकर्ताले भने‘अब दुबै एकै ठाउँमा छन्, त्यसैले ‘को भन्दा को कम’ भन्ने स्थिति आउन सक्छ, यसले झनै आगोमा घ्यू थप्ने कार्य पनि गर्न सक्छ ।’ दुबै जना मिलेमा काँग्रेसलाई निकै फाईदा हुने उनको भनाई छ ।‘पार्टी भित्रै लडेर दुईटैलाई केही फाईदा हुनेछैन,लडाईको फाइदा अरु पार्टीले लिइरहेका छन्, पार्टी भित्र अरु पार्टीले खेल्ने अबस्था आएको छ’, उनलेभने‘ त्यसैले दुबैको भलोका लागि हरेक क्षेत्रमा भागबन्डा गरेर मिलेर पनि अगाडी बढ्न सक्छन् ।’

तर, व्यबहारिक रुपमा एक हुन अझै समय लाग्ने उनीहरुका गतिबिधिले देखाउछ । एउटा उदाहरण, तुलसीपुर खानेपानीको निर्वाचनलाई नै हेर्न सकिन्छ । काँग्रेसकै उम्मेदवार विरुद्ध बागी हाल्ने अबस्था सिर्जना भएको छ । काँग्रेसले अध्यक्ष पाएको अबस्थामा पनि काँग्रेसकै दुईजना उम्मेदवार भए । यातायात व्यबसायी सुरेश हमाल अध्यक्ष रहेको तुलसीपुर काँग्रेसमा यातायात व्यबसायी यमकान्त भण्डारीलाई पार्टीको आधिकारिक उम्मेदवार बनाईयो । जो तुलसीपुरमा क्रियाशिल ९ दलको उम्मेदवार थिए । भण्डारी दीपक गिरी निकट हुन् । उनकै ‘काउन्टर’मा गेहेन्द्र गिरी निकट मानिने पवन बुढाथोकीलाई अध्यक्षको वागी उम्मेदवार बनाइयो । उम्मेदवार मात्रै बनाईन्, उनको पक्षमा काँग्रेसकै आधिकारिक ब्यक्ती प्रचार प्रसारमा सक्रिय रहे । यसले गर्दा पनि काँग्रेसमा दुई गुट अझै प्रष्ट रुपमा सक्रिय भएर लागेको देखिन्छ ।‘अन्य पार्टीलाई भाग परेकोमा वागी परेको भएपनि एउटा कुरा हो, तर, आफ्नै पार्टीलाई भाग परेकोमा बागी हालिएको छ, प्रचार पनि ब्यापक गरियो’, काँग्रेसका नेता भन्छन्‘यसले काँग्रेस भित्र भावनात्मक एक हुन अझै समय लाग्ने देखिन्छ ।’


नेता गेहेन्द्रले काँग्रेसबीच मिल्नु पर्ने संकेत भने गरिरहेका छन् । कार्यकर्ताको स्वागत कार्यक्रममा उनले भनेका छन्‘हाम्रो लडाई भनेको जुन भएपनि कम्युनिष्टसंगै हो, महाधिवेशनमा जस्तो भयो, त्यसलाई बिर्सेर अब आम चुनाबमा होमिनु पर्ने अबस्था छ ।’ उनको यो भनाईले अब गिरी भाई मिल्नु पर्छ, भन्ने नै थियो । यही आशयाको भाषण दीपक गिरीले पनि गरे । काँग्रेसको गढ मानिने तुलसीपुर १५ मा पुगेर उनले पनि अबको लडाई कम्युनिष्टसंगै भएको बताए । पार्टी भित्र भन्दा बाहिरको शक्तिलाई पराजित गर्न लड्नु पर्ने उनको भनाई थियो ।

अबको आशा गेहेन्द्र

पूर्व सांसद समेत रहेका गिरीको अबको लाईन पनि पुनः सांसद बन्ने नै हो । यस अघि मेयरमा टिकेट पाएका गेहेन्द्रले अब भने उनको कि त मुख्यमन्त्री बन्ने गरि दाङ क्षेत्र नं. ३ ख’बाट चुनाब लड्ने, कि भने दाङ क्षेत्र नं. ३ बाट सांसद लड्ने चाहाना रहेको उनी निकट एक नेताले बताए । उनको मालाको संकेत पनि त्यही थियो र कार्यकर्ताको पनि उत्साह त्यसमै देखिन्थ्यो । घोराहीको सेवारमा २००८ सालमा जन्मिएका गिरी प्रजातन्त्र सेनानी तथा बाजे चित्र गिरीको प्रेरणाले राजनीतिमा लागेका थिए । सामान्य शिक्षा दाङमै लिएर भारतको बनारसबाट एसएलसी सम्मको अध्ययन पूरा गरेका उनी बनारसबाटै राजनीतिसँग नजिकिएका थिए । उनी २०५६ सालको आम निर्वाचनमा दाङ क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए ।

तरुण सहयोग समितिको सदस्य भएका गिरीले ०२३ सालमा कांग्रेसको पार्टी सदस्यता प्राप्त गरेका हुन् । त्यसयता प्रशासनको तारो बनेका उनी ०२९ सालसम्म भारतमा निर्वासित जीवन बिताएर ०३० सालमा नेपाल फर्किएका थिए। २०३० सालदेखि २०३४ सालसम्म बन्दी जीवन बिताएका गेहेन्द्र पञ्चायत विरुद्ध बहुदलको पक्षमा आन्दोलन चर्किन थालेपछि रिहा भएका थिए ।

२०४९ सालदेखि ०५८ सालसम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै दुई कार्यकालसम्म सभापति भएका हुन् । दोस्रो संविधानसभा निर्वाचनमा समेत दाङ क्षेत्र नम्बर ५ बाट टिकटको दाबेदार रहेपनि भाइ दीपक गिरीलाई पार्टीले टिकट दिएको थियो। त्यसयता दाजुभाइबीच सुमधुर सम्बन्ध नरहेको कांग्रेस वृत्तमा चर्चा पनि हुने गर्दछ । गिरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार थिए । तर, उनी एमालेका घनश्याम पाण्डेसंग पराजित भएका थिए ।  साभारः अग्रिम साप्ताहिक

May be an image of 2 people and text that says 'し स्वाधीनता,समृद्धि समाजवादको अगिम www.livedang.com सबै समाचार.. LIVE साप्ताहिक WEEKLY DANG.COM www.livedang.com सोमबार (Agrim Weekly, Jan Monday 2022) www.livedang.com गेहेन्द्र गिरीको 'कमब्याक' ले एक होला काँग्रेस? पूष्ठ द+क,ख मुल्य शुभकामना Dipak VS Gehendra धनश्याम पाण्डे तुलसीपुर उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय लसीपुर,दाड शुभकामना -स्वास्थ्य, पौडेल गाउपालिका गाऊकार्यपालिकाको कार्यालय परिवार हापुरे, समुदायको अवसरमा दिदीबहिनीहरुमा प्रगतिको गेहेन्द्र पौडेल इन्टरप्राईजेज तुलसीपुर,दाड'