लमही मेयर कप प्रतियोगिता, लमही फुटबल टिम विजेता, पुरस्कार रकमबाट घाइतेलाई सहयोग

प्रिया स्मृती गजमेर
देउखुरी,२६ चैत ।
“लमही नगर निर्माण, महाअभियान” अन्तर्गत आयोजित चौथो मेयर कप फुटबल प्रतियोगितामा लमही नगरपालिका–५ को लमही फुटबल टिम विजेता बनेको छ । चैत २५ गते सम्पन्न फाइनल खेलमा लमही टिमले कोलही फुटबल टिमलाई ३-0 गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

यस प्रतियोगितासँगै चालु आर्थिक वर्षका मेयर कप अन्तर्गतका सबै खेलहरू सम्पन्न भएका छन् । लमही नगरपालिका ४ स्थित न्यु डाँफे युवा क्लबको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा ८ वटा फुटबल टिमको सहभागिता रहेको थियो । लामो समयदेखि रोकिएको मेयर कप यस आर्थिक वर्षबाट पुनः सञ्चालनमा आएको छ । प्रतियोगितामा विजेता टिमलाई ४० हजार रुपैयाँ र उपविजेता टिमलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै लमही र कोलही दुवै टिमले प्राप्त नगद पुरस्कारबाट ४० हजार रुपैयाँ दुर्घटनामा परी घाइते भएका लमही नगरपालिका ५ कोलहीका अशोक चौधरीलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

समापन कार्यक्रममा लमही नगरपालिका ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, गोरक्ष नगर टोल विकास संस्थाका अध्यक्ष लिल बहादुर रोका, वडा प्रहरी कार्यालय लमहीका प्रहरी हवल्दार हरि गिरी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले खेलकुद क्षेत्रको विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई अनुशासन, सहकार्य, नेतृत्व विकास र स्वस्थ जीवनशैलीको महत्वपूर्ण आधार हो । मेयर कप जस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई पहिचान गर्न, युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न र समाजमा एकता तथा सद्भाव बढाउन ठूलो भूमिका खेल्छ ।”


नगर प्रमुख चौधरीले छोटो समयमै क्रिकेट, ब्याडमिन्टन र फुटबल प्रतियोगिता सञ्चालन गरिएको उल्लेख गर्दै तयारीका क्रममा केही कमीकमजोरी भएको स्वीकार गर्नुभयो । “सीमित समय र स्रोतका बाबजुद पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु सबैको सहकार्यको परिणाम हो । आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ योजनाबद्ध, व्यवस्थित र स्तरिय बनाउँदै लैजानेछौं,” उहाँले भन्नुभयो ।

उहाँले प्रतियोगिता सफल बनाउन योगदान दिने खेलाडी, आयोजक, सुरक्षाकर्मी, पत्रकार, स्वयंसेवक तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै खेलकुदको माध्यमबाट समृद्ध र स्वस्थ समाज निर्माण गर्ने लक्ष्यमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।