काँग्रेसको समीक्षाकालागि सभापती थापा दाङ आउँदै

प्रिया स्मृती गजमेर
देउखुरी,२६ चैत ।
नेपाली कांग्रेस ले २०८२ साल चैत १० र ११ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार देशभर निर्वाचन समीक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई जिम्मेवारी तोकिएको छ । यहि चैत २९ गते दाङको राप्ती गाउँपालिका स्थित भालुवाङमा कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति गगन कुमार थापा आउने कार्यक्रम तय भएको सहमहामन्त्री चौधरीले जानकारी दिनु भयो ।

पार्टीले “निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो” शीर्षकमा सातै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । उक्त कार्यक्रम अन्तर्गत प्रतिनिधि सभा अन्तर्गतका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूसँग समिक्षात्मक छलफल गरिनुका साथै केन्द्रीय प्रतिनिधिको उपस्थितिमा क्षेत्रगत अध्ययन र समीक्षा गरिने जनाइएको छ । निर्धारित मिति र स्थान अनुसार सम्बन्धित प्रदेशहरूमा कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्येक प्रदेशमा तोकिएका संयोजकसँग आवश्यक समन्वय गरिने पार्टीले जनाएको छ ।


यस कार्यक्रमअन्तर्गत केन्द्रीय कार्यसमितिका सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारीहरू, जिल्ला सभापतिहरू, प्रतिनिधि सभा क्षेत्रीय सभापतिहरू, प्रदेश सभा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय सभापतिहरू तथा प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ । कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्बन्धित जिल्ला कार्यसमितिलाई दिइएको जनाइएको छ । नेपाली कांग्रेसले यस कार्यक्रममार्फत हालै सम्पन्न निर्वाचनको समग्र समीक्षा गर्दै आगामी रणनीति तय गर्ने लक्ष्य राखेको बताइएको छ।