थारु समुदायको रैथाने खानालाई बजारीकरण गरिदै 

दाङ,२४ चैत ।
दाङ घोराही उपमहानगर–पालिका वडा नं.१६ सौरी निवासी हस्ति कुमारी चौधरीले थारु खाना बनाउन विर्सिसकेका थिए । उनले पहिले–पहिले दाङ थारुहरुले खाने दगौरा खाना बनाउथिन् । त्यो बिर्सेपनि अहिले भने उनी दाङको मात्रै होईन्, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङकै देउखुरी क्षेत्रका थारुहरुले खाने खाना बनाउन सिक्नु भएको छ ।त्यस्तै तुलसीपुर उपमहानगर–पालिका वडा नं.११ सुकौराकै विना चौधरीले पनि अहिले बिभिन्न जिल्लाका थारु समुदायले खाने खानाहरुको परिकार बनाउन सिकेकि छिन् । उनीहरुले आफूले थारुहरुको परम्परागत खानालाई होटेल गरेर आम्दानी गर्ने समेत बताए ।थारु समुदाय खानपानका हिसाबले धनी समुदायका रुपमा चिनिन्छ । तर, पछिल्लो समय थारु खाना पनि लोप हुँदै जान थालेको थियो ।
यसलाई संरक्षण गर्नकालागि थारु समुदायका महिलाहरुलाई थारु खाना बनाउने तालिम प्रदान गरिएको छ  ।पर्यटन डिभिजन कार्यालय बाँकेको आयोजना र थारु संस्कृतिक संरक्षण केन्द्र दाङको सहकार्यमा दाङका ४० महिलाहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो । दाङका थारुहरुले खाने दगौरा, दाङको देउखुरीका थारुहरुले खाने देउखुरीया, बाँके र बर्दियाका थारुहरुले खाने देसौरी खाना तथा कैलाली र कन्चनपुर थारुहरुले खाने राणा र कठरीया खाना बनाउन सिकाईएको हो ।यसरी महिलाहरुलाई थारु खाना बनाउन सिकाएर यसलाई बजारीकरण गर्न तर्फ आफूहरु लागेको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।
“अहिले थारु समुदायको खाना भनेर ढिक्री, घुँङी, जाँडको झोल मात्रै दिने गरिएको  छ”,उनले भने“त्यति मात्रै थारु समुदायको परिकार होईनन्, हाम्रा थुपै्र खानाहरु लोप भएका छन्, जुन मानव स्वास्थ्यकालागि पनि लाभदायक छन् ।”  उनका अनुसार कन्जुवा, अनदी, सिम्ठारो, मकै र मसुराको भात, थारु समुदायको विवाह पार्टीका परिकार, घोङी, गंगटा, लोकल कुखुराको मासु, गुइता माछा, माछा, सिद्रा माछा, बंगुरको मासु, बयरको अचार, जारको झोल, ढिक्री, पतौरीलगायत ४० बढी रैथाने परिकार रहेका छन् । जिल्ला अनुसार फरक फरक खाना रहेकाले ति खानालाई बजारमा लैजान सकेमा आम्दानीको स्रोत पनि बन्न सक्ने पूर्वमुख्यमन्त्री चौधरीले बताए । उनले देशभरकै थारु समुदायले बनाउने खानाको विषयमा तालिम प्रदान गर्ने गरि यो कदम अघि बढाईएको बताए । उनका अनुसार अब झापा, मोरङ, बारालगायतका थारु समुदायले खाने खानाको बारेमा पनि तालिम दिने तयारी रहेको छ ।
अहिले दाङका थारु समुदायलाई मात्रै यो तालिम प्रदान गरिएको भएपनि बाँके, बर्दिया, रुपन्देही, कपिलबस्तु, नवलपरासीका थारु समुदायलाई पनि यस्तो तालिम दिने उनको भनाई छ ।