
तुलसीपुर, १९ चैत । दाङको तुलसीपुरमा एक घरगाेठमा आगलागी हुँदा करिब ३ लाख बराबरकाे क्षति भएकाे छ ।
मंगलबार बेलुका ६ बजे तुलसीपुर उपमहानगरपालिका-३ बल्लेमा भुवन थापाको खरले छाएको कच्ची घरगोठमा अचानक आगलागी भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सूर्य रानाले जानकारी दिनुभयाे ।



आगलागीबाट एउटा गोरु जलेर मरेकाे छ भने दुई गोरु र चार गाई घाइते भएका छन्। साथै घरमा रहेका अन्नपात, लत्ताकपडा पूर्ण रूपमा नष्ट भएका छन्।
प्रहरीका अनुसार आगलागीबाट करिब २ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको तर कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएकाे छ । घटनाबारे अनुसन्धान जारी रहेको बताइएकाे छ ।
लाइभदाङ । १९ चैत्र २०८१, मंगलवार २२:१९ बजे