
केही समय अघि तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ विजौरीका गणशे वलीले आफ्नी श्रीमतिको धारिलो हतियार प्रयोग गरि हत्या गरे । त्यस्तै चैत १९ गते शान्तिनगर गाउँपालिका वडा नं. ४ वैशा निवासी ४५ बर्षीय तिलकराम घर्तीले सोही ठाउँकी २८ बर्षीया आशा खड्कालाई आलीसाँधीको विवादमा खुकुरी नै प्रहार गरे । उनी पनि पूर्व सुरक्षार्की हुन् । त्यस्तै दाङको राप्ती गाउँपालिका वडा नं. ४ स्थित दोलाई खोलामा प्रेम सम्बन्धको विवादमा केही युवा र युवति मिलेर राप्ती २ का स्मित प्रधानको धारिलो हतियार प्रहार गरि हत्या गरे । यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय जिल्लामा यसरी हत्या हिंसाका घटना बढिरहेका छन् । सरकारी कर्मचारीजस्तो शिक्षित व्यक्तिले श्रीमतीको हत्या गर्नु, जग्गा विवादमा महिलामाथि खुकरी प्रहार हुनु, र प्रेम सम्बन्धकै कारण युवकको हत्या हुनु केवल सामाजिक विकृतिका घटना मात्र होइनन्, यी हाम्रो मनोवैज्ञानिक स्वास्थ्य संकटका गम्भीर लक्षण हुन् ।
मानिसमा आवेग नियन्त्रणको क्षमता, सहानुभूति र तनाव व्यवस्थापनको स्तर जब कमजोर हुन्छ, तब सानो भनाभन वा सम्बन्धमा झैंझगडा पनि घातक हिंसामा परिणत हुन्छ। ‘प्रेम सम्बन्ध’ वा ‘जग्गा विवाद’ जस्ता बाह्य कारण हिंसाको ट्रिगर हुन्, तर भित्री कारण मानसिक तनाव, ईष्र्या, असुरक्षा र क्रोध व्यवस्थापनमा विफलता नै हो। खासगरी ग्रामीण क्षेत्रमा मानसिक परामर्श, मनोवैज्ञानिक उपचार र आवेग नियन्त्रणको पहुँच अभाव छ। कर्मचारी जस्तो व्यक्ति पनि भावनात्मक रूपमा अपरिपक्व छ भन्ने यी घटनाले देखाउँछन् । हाम्रो समाजले मर्दो रिस, मानसमा आएको पीडा, डिप्रेसन, एंग्जाइटीलाई सामान्य ठान्छ तर ती भावनालाई परामर्श र संवादमा बदलन सिकेको छैन। पारिवारिक झगडा, विवाद र सम्बन्ध विच्छेदका घटनाले देखाउँछन्— मानिस हिंस्रक हुन थालेको छैन, तर आफ्नो मनको कोलाहललाई शब्द, मेलमिलाप, क्षमा या कानुनी उपचारमा रूपान्तरण गर्न असमर्थ छ।
यस्ता घटनापछि प्रशासनिक कारबाही र दण्डको माग हुनु स्वाभाविक हो, तर स्थायी समाधान मनोवैज्ञानिक परामर्श केन्द्र, विद्यालयस्तरदेखि नै भावनात्मक शिक्षा, र प्रत्येक वडामै सुलह र मानसिक स्वास्थ्य सहायता इकाई स्थापना गर्नुमा छ। साथै, मानसिक समस्यालाई कलंक नठानौं, यो शारीरिक रोगजत्तिकै सामान्य र उपचारयोग्य हो भन्ने सन्देश प्रवाह गर्नुपर्छ। हिंसा अन्त्य गर्न हतियार होइन, संवाद चाहिन्छ। समाज मनोवैज्ञानिक रूपले स्वस्थ भए मात्रै तुलसीपुर, शान्तिनगर र राप्तीका यी घटनाको पुनरावृत्ति रोकिन्छ। नत्र हरेक विवादले हत्या र रगतको परिणति दिने क्रम बढ्दै जा नेछ। यो गम्भीर सङ्कट हो, यसलाई बेवास्ता गर्ने समय अब छैन। सभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २४ चैत्र २०८२, मंगलवार ०६:३३ बजे