समाजलाई हामीलाई दिएको एउटा जिम्मेवारी हो-खबरदारी । हरेक गलत प्रबृतिको हामीले खुलेरै विरोध गर्यौं । पछिल्लो समय व्याप्त रुपमा देखिएको भ्रष्टाचार, अनियमितता हाम्रो मिसन बन्यो । फलस्वरुप हामीले नियमित चलाएका कलमले धेरै परिबर्तन भए । यो हाम्रो उपलब्धी थियो । सकारात्मक परिबर्तनकालागि हामीले चलाएको कलमले नै तीन बर्षमा सञ्चारले एउटा फड्को मार्यो । समाजमा साप्ताहिक पत्रिका र अनलाईन सञ्चार माध्यामको भूमिका प्रष्ट रुपमा बुझायौं ।
समाजलाई सत्मार्गमा हिडाउने मिडियाको भूमिका हो । मिडिया भनेको समाजको ऐना पनि हो । मिडियाले देखाएको बाटो सही भए, समाज सही मार्गमा हिड्न सक्छ । तर, जब मिडियाले गलतबाटो देखाउछ, तब समाजमा विग्रह पैदा हुन्छ । सभ्य समाज निर्माण गर्न मिडियाको भूमिका महत्वपूणर् हुन्छ । हामीले त्यो भूमिका निर्वाह गरेको महशुस गरेका छौं । समाजका गलत कार्यको सधै विरोध गर्यौं भने राम्रो कुराको खुलेरै समर्थन गर्यौं । जो हाम्रो सम्पादकीय नीति पनि थियो ।
सञ्चार क्षेत्रमै दशकौं विताएको टिमले नै नेतृत्व गर्दा यो मिडियाका विषयबस्तु पनि ओजपूणर् रहेको हाम्रो ठहर छ । सत्य,तथ्य र विश्वसनीय समाचारकालागि अग्रिम साप्ताहिक र लाईभदाङ डटकम हेर्नै पर्छ, भन्ने एउटा छाप छोड्न सफल भएका छौं । बढ्दो विज्ञान र प्रबिधिको युगले सञ्चार माध्यामलाई थप परिस्कृत गरेको छ । हामीले परम्परागत पत्रकारितालाई थप परिस्कृत गर्दै नयाँ शैलीको पत्रकारितालाई अंगालेका छौं । अबको समाचारका विषयबस्तु भिडियो, अनलाईनबाट पनि प्रस्तुत गर्दै आएका छौं, भने पत्रिकाको माध्यामबाट पनि पाठकको समाचार पढ्ने भोकलाई मेटाउने प्रयत्न गरिरहेका छौं ।
जहाँ चुनौति हुन्छ, त्यो चुनौति समाना गर्दै हाम्रो गति निरन्तर अगाडी बढिरहेको छ । पत्रकारिता आचरसंहिता, पत्रकारिताको विश्व सिद्धान्तलाई आत्मसात गर्दै सन्तुलित र विश्वसनीय समाचार सामग्री प्रस्तुत गर्दै आएका छौं । तथ्य समाचार, सर्वपक्षीय विचार नै हाम्रा प्राथमिकता हुन् । तर, समाजका अराजक तत्व, सुशासन विरोधी कार्यशैलीले पत्रकारिता जगत पनि मारमा परेको छ । पत्रकारको एउटा काम नियमित ‘प्रश्न’ हो । भ्रष्टाचारको विरुद्धमा जति दवाव र प्रभाब आएपनि हामी त्यसमा कहिल्यै पनि चुकेका छैनौं । निरन्तर हामी ‘प्रश्न’ सोध्छौं । प्रश्न सोधिरहेका छौं र निरन्तर प्रश्न सोधिरहनेछौं ।
लाइभदाङ । ११ भाद्र २०८०, सोमबार १९:२९ बजे