
दाङ, २१ चैत । दाङको राप्ती गाउँपालिका २ स्थित दोलाई खोलाको घटना प्रेम सम्बन्धका कारण भएको हुन सक्ने अनुमान गरिएको छ। प्रारम्भीक अनुसन्धान अनुसार प्रेम सम्बन्धका कारण युवकको हत्या भएको खुलेको हो । खुकरी प्रहारबाट राप्ती गाउँपालिका वडा नं.२ बाह्रखुट्टी निवासी १७ बर्षीय स्मित प्रधानको मृत्यु भएको हो ।
जो उनका साथी १६ बर्षीय अयुशमान थापासंगै थिए । थापालाई उनको एक जना केटी साथीले फेसबुक मार्फत बोलाईन् । बोलाएपछि थापा र प्रधानसंगै गएका थिए । त्यही क्रममा प्रधानको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
थापाको ति केटीसंग प्रेम रहेको स्रोतले बताएको छ । केटीले बोलाएपछि उनीहरु त्यहाँ पुग्दा अन्य दुईजना केटाहरु पनि थिए । बंगलाचुली गाउँपालिका ८ घरभई राप्ती गाउँपालिका ४ श्रीनारायण चोक बस्ने २० बर्षीय सन्दिप वली र राप्ती गाउँपालिका ४ मौरीघाट बस्ने १८ बर्षीय निश्चल चौधरी थिए । ति मध्ये वलीको पनि ति केटीसंग प्रेम रहेको खुलेको छ ।“केटीले डबल रोल खेलेको देखिन्छ”, प्रहरी स्रोतले भन्यो“यस विषयमा अनुसन्धान भइरहेको छ ।”
साथीसंग गएका प्रधानको हत्या
प्रधान साथीसंग गएका थिए । उनी घरका एक्लो छोरा पनि हुन् । केही दिन अघि मात्रै उनी पोखराबाट घर आएका थिए । प्रधान ब्रिटिस आर्मीको तालिमकालागि पोखरा बस्दै आएका थिए । उनको शवलाई शुक्रबार राति १२ बजे दोलाई खोलामा फेला पारिएको थियो । यद्यपी घटना विहीबार राति ८ बजेतिर भएको हुन सक्ने प्रहरीको भनाई छ ।
त्यस्तै थापा पनि हाल एसइइ दिइरहेका विद्यार्थी हुन् । थापा घाइते छन् । उनी घाइते अबस्थामै राप्ती गाउँपालिका ४ स्थित दिदीको घर गएका थिए । त्यसपछि उनकी दिदी रमिता खाम्चा मगरले घटनाका बारेमा प्रहरीलाई खबर गरेपछि खोजतलास सुरु भएको थियो । थापाको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको छ ।
तीन जना पक्राउ
प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा दाङको बंगलाचुली गाउँपालिका ८ घर भई हाल राप्ती गाउँपालिका ४ श्रीनारायण चोक बस्दै आएका २० बर्षीय संदिप वली, राप्ती गाउँपालिकाका वडा ४ मौरीघाट निवासी १८ बर्षीय निश्चल चौधरी र एक बालिकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
साथै घटना भएको स्थान दोलाईखोलाबाट चक्कु, ढुंगा, बासको टुक्रा, प्लाष्टिकको डोरी, चस्मा, टाबेलको टुक्रा, मोवाईललगायतका सामग्री समेत बरामद गरेको छ ।



लाइभदाङ । २१ चैत्र २०८२, शनिबार १७:१४ बजे