दाङमा एसइईः १३ हजार ९९८ विद्यार्थी सहभागि हुँदैछन्

दाङ, १९ चैत । आज(विहीबार)देखि सुरु भएको एसईई परीक्षाामा दाङबाट १३ हजार ९९८ जना विद्यार्थी सहभागी हुँदैछन् । जिल्लाका १० स्थानीय तहमा रहेका ११६ सामुदायिक र १४४ संस्थागत गरी २६० विद्यालयबाट विद्यार्थीहरू परीक्षामा सहभागी हुन भएका हुन् । जिल्लामा ४४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ दाङका शाखा अधिकृत एवं सूचना अधिकारी तिलकराम बञ्जाडेका अनुसार नियमित साधारणतर्फ ११ हजार ४३८ जना, प्राविधिक धारतर्फ ३३३ जना, ग्रेडवृद्धि साधारणतर्फ २ हजार १२६ जना र ग्रेडवृद्धि प्राविधिकतर्फ १०१ जना विद्यार्थी हुन् ।
कुल सहभागीमध्ये ६ हजार ६१८ जना छात्र र ७ हजार ३८० जना छात्रा रहेका छन्।


यसैगरी, सामुदायिक विद्यालयबाट ८ हजार ४४६ जना, संस्थागत विद्यालयबाट ५ हजार ४८८ जना तथा खुलातर्फ ६४ जना विद्यार्थी सहभागी हुनेछन्। पाँच जना दृष्टिविहीन विद्यार्थी गुरुजजुर नमुना मावि, रक्षाचौरबाट तथा ११ जना सुस्त श्रवण तथा बहिरा विद्यार्थी अश्वारा मावि, तुलसीपुरबाट परीक्षामा सहभागी हुँदैछन् ।

परीक्षाका लागि घोराही उपमहानगरपालिकामा १४, तुलसीपुर उपमहानगरपालिकामा १३, लमही नगरपालिका र राप्ती गाउँपालिकामा ३-३, दंगीशरण र बबई गाउँपालिकामा २-२ तथा बङ्गलाचुली, शान्तिनगर र राजपुर गाउँपालिकामा १-१ वटा परीक्षा केन्द्र तोकिएको छ।