भाडाको भवन लिएर कर कार्यालयको सेवा

तुलसीपुर,१८ कात्तिक ।
दाङको तुलसीपुर स्थित आन्तरिक राजश्व कार्यालयले भाडाको भवनबाट सेवा सुरु गरेको छ ।

सोमबारदेखि भाडाको भवनबाट सेवा सुरु गरेको कार्यालय प्रमुख श्रीधर टन्डनले बताउनुभयो ।

जेनजी आन्दोलनका क्रममा कार्यालयको भवन जले पछि तुलसीपुर उद्योग बाणिज्य संघको भवनबाट सेवा दिन थालेको थियो । जुन भवन संघले भाडा नलिएरै उपलब्ध गराएको थियो ।


हाल तुलसीपुर उपमहानगरपालिका वडा नंं.६ स्थित त्रिसिद्देश्वरी मन्दिरको धर्मशालाको भवन भाडामा लिएर सेवा सुरु गरिएको हो । २३ वटा कोठा भएको उक्त भवनलाई मासिक ७५ हजार रुपैँया भाडामा लिएर सेवा सुरु गरिएको प्रमुख टन्डनले बताउनुभयो । कार्यालयको सेवा संगै सुरक्षा गार्ड, कार्यालय सहयोगी बस्नकालागि पनि ब्यबस्था गरिएको छ । साथै कर्मचारीको आवास पनि त्यही बनाउन सकिने समेत प्रमुख टन्डनले बताउनुभयो । हाललाई एक बर्षको सम्झौता गरेर भाडामा लिईएको भएपनि जलेको कार्यालय भवन मर्मत वा निर्माण नहुँदासम्म सोही ठाउँबाट सेवा सुरु गर्ने उहाँले बताउनुभयो ।

सल्यानरोड स्थित कार्यालय जलेको छ । जिल्ला स्थित प्राबिधिकले जाँच गर्दा प्रयोग गर्न नमिल्ने अबस्थाको रहेको प्रतिबेदन आएको छ । त्यसलाई पुनः जाँचकालागि केन्द्रबाट प्राबिधिकको टोली आउने र सोही प्रतिबेदनका अनुसार काम अघि बढ्ने प्रमुख टन्डनले बताउनुभयो । तर, अहिले नै प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने कुनै टुंगो नलागेको उहाँले बताउनुभयो ।