एमाले परित्याग गर्ने तीन कार्यपालिका सदस्य कारवाहीमा

दाङ
२० माघ / नेकपा एमालले तीनजना कार्यपालिका सदस्यलाई कारवाही गरेको छ । २०७४ सालको स्थानीयत तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएपनि अहिले पार्टीको हितविपरित कार्य गरेको भन्दै तुलसीपुर उपमहागनरपालिकाका कार्यपालिका सदस्यहरु जानका रेग्मी, डिला परियार र दीपक कुमाललाई कारवाही गरिएको हो ।

एमाले दाङका अध्यक्ष हुकुम बस्नेत र सचिब मनोहर बुढाथोकीले विहीबार एक विज्ञप्ति जारी गरि केन्द्रीय पार्टीले समेत कारवाही गरिसकेको बताएका छन् । उनीहरु तिनै जनाले एमाले विभाजन हुँदा एमाले नै रोजेका थिए । तर, पछि समाजवादीमा गएपछि उनीहरुलाई एमालेले कारवाही गरेको हो । कुमाल सुरुदेखि नै माधव नेपाल निकट एकीकृत समाजवादीमा खुलेका थिए ।

उनी एकीकृत समाजवादीको तुलसीपुर सचिब समेत छन् । रेग्मी केही समय अघि मात्रै अधिवेशनबाट एमालेको जिल्ला सदस्य समेत भएकी थिईन् । तर, उनले एमाले पार्टी परित्याग गरि समाजवादीमा प्रवेश गरेकी हुन् । एमाले स्रोतका अनुसार उनी एमालेमा हुँदा मनोहर बुढाथोकी निकट मानिन्थिन । तर, पछिल्लो समय उनीहरुबीचको राजनीतिक सम्बन्ध चिसिकएको स्रोतले बताएको छ । त्यस्तै परियार पनि रेग्मीसंगै एकीकृत समाजवादीमा प्रवेश गरेकी हुन् ।


माया आचार्यलाई पनि कारवाही !
एमालेले तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यलाई पनि पार्टीमा कारवाही गरेको थियो । तर, त्यो कारवाही भुलबस भएको एमाले दाङले विज्ञप्ति जारी गरि स्पस्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ‘तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्मा आचार्यको नाम उल्लेख भई अन्यथा भएको हुँदा सो भ्रममा नपर्न सबैमा अपिल गर्दछौं ।’ आचार्य निरन्तर रुपमा एमालेमा संक्रिय भएर लागेकीछन् ।