
पोखरा,१० चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले अब कास्की जिल्ला अदालतमा नियमित रूपमा तारिख धाउनु नपर्ने भएको छ । मंगलबार कास्की जिल्ला अदालतले लामिछानेको मागबमोजिम नै उनलाई तारेखबाट उन्मुक्ति दिने आदेश जारी गरेको हो ।
जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठको इजलासले लामिछानेलाई तारेख बाहिरै बसेर मुद्दा लड्न पाउने गरी निवेदनउपर सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । लामिछानेले आइतबार आफूलाई नियमित उपस्थितिको झन्झटबाट मुक्त गरिपाऊँ भन्दै अदालतमा निवेदन पेस गरेका थिए । अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार अब उनले प्रत्येक महिना अदालत पुगेर हाजिर हुनुपर्ने बाध्यता हटेको छ । यद्यपि, मुद्दाको सिलसिलामा थप प्रमाण बुझ्नुपरेमा वा अदालतले अनिवार्य ठानेर बोलाएको खण्डमा भने उनी उपस्थित हुनुपर्ने सर्त यथावत् राखिएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका लामिछाने गत वर्षको कात्तिकमा पक्राउ परेका थिए । सोही वर्षको पुसमा कास्की जिल्ला अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रिहा भएपछि उनी हालसम्म हरेक महिना कास्की पुगेर तारेख बुझ्दै आएका थिए । पछिल्लोपटक उनी २९ माघमा अदालतमा उपस्थित भएका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ ठगी भएको दाबी गर्दै लामिछानेसहित ६३ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको छ । जसमा लामिछानेको भागमा ३ करोड ३७ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ भने सम्पत्ति शुद्धीकरणतर्फ छुट्टै २७ करोड ८९ लाख रुपैयाँभन्दा बढीको बिगो दाबी रहेको छ । तारेखको दायित्व हटे पनि मुद्दाको अन्य कानुनी प्रक्रिया र सुनुवाइ भने साबिककै अवस्थामा अघि बढ्ने अदालतले जनाएको छ ।



लाइभदाङ । १० चैत्र २०८२, मंगलवार २२:१२ बजे