सेवाग्राहीमैत्री सेवा प्रवाहतर्फ लमहीस् राजश्व संकलनमा ‘सूत्र’ प्रणाली लागू हुदैं

प्रिया स्मृती गजमेर
देउखुरी,७ चैत ।
लमही नगरपालिकाले राजश्व संकलन प्रक्रियालाई थप सहज, सरल र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित ‘सूत्र’ प्रणालीमार्फत सेवा प्रवाह सुरु हुदैं छ । नगरपालिकाले राजश्व शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न विशेष तालिम सञ्चालन गर्दै आधुनिक प्रविधिमा आधारित सेवा प्रणाली लागू गर्ने पहल अघि बढाएको हो ।

“लमही नगर निर्माण, महाअभियान” अन्तर्गत राजश्व संकलन कार्यलाई व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने लक्ष्यसहित कर्मचारीहरूलाई ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)’ सम्बन्धी तालिम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रणालीमार्फत सेवा प्रवाह गर्दा राजश्व संकलन प्रक्रिया अझ प्रभावकारी र पारदर्शी बन्नेछ ।

नगरपालिकाले नगद अभावका कारण सेवाग्राहीले भोग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै क्यूआर कोडमार्फत भुक्तानी गर्ने सुविधा समेत उपलब्ध गराउने तयारी गरेको छ । यसले सेवाग्राहीलाई छिटो, सहज र सुरक्षित रूपमा कर तिर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नगर प्रमुख जोगराज चौधरीले नगरपालिकालाई सेवाग्राहीको साझा घरका रूपमा परिभाषित गर्दै सेवा प्रवाहलाई चुस्त, छरितो र जनमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हाम्रो सेवा सेवाग्राहीको सुविधाअनुसार हुनुपर्छ, त्यसैले राजश्व संकलनलाई पनि सहज र सरल बनाउने दिशामा अघि बढेका छौं,” उहाँले भन्नुभयो ।


सूत्र प्रणालीको प्रयोगले कर संकलन, अभिलेख व्यवस्थापन, प्रतिवेदन तयारी तथा आर्थिक पारदर्शिता कायम गर्न महत्वपूर्ण योगदान पुग्ने प्रशिक्षक तथा शान्तीनगर गाउँपालिकाका सूचना प्रविधि अधिकृत रविन रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार यस प्रणालीले स्थानीय तहको राजश्व व्यवस्थापनलाई प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउनेछ ।

कार्यक्रममार्फत सूत्र राजश्व मोड्युलको प्रयोग, यसको प्रभावकारिता, देखिएका चुनौती तथा सुधारका सम्भावनाबारे आगामी दिनमा समेत निरन्तर छलफल गरिने जनाइएको छ । यसले कार्यालयको सेवा प्रवाहलाई अझ छिटो, सरल र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य सूचना प्रविधि अधिकृत नरेन्द्र कुमार गुप्ताले व्यक्त गर्नुभएको थियो भने सहजीकरण राजश्व शाखा प्रमुख अम्बिका शर्माले गर्नुभएको थियो ।