रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु, तीन जना घाइते

रोल्पा,३० फागुन ।
रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार रुन्टिगढी गाउँपालिका–७ खाक्सिबनका ४९ वर्षीया निर्मला बुढाथोकीको पहिरोमा पुरिँदा घटनास्थलमै मृत्यु भएको हो । मृतक निर्मलासहित छिमेकी गरी सात जना घर लिप्नको लागी माटोे लिन गएका बेला अचानक पहिरो खसेको प्रहरीले जनाएको छ ।

रोल्पाको रुन्टिगढी गाउँपालिका–७ मोतिखन्ने डाँडा नजिकै आज दिउँसो करिब १२ बजेतिर घर लिप्नका लागि माटो लिन गएका स्थानीय महिलामाथि माथिबाट पहिरो खसेको प्रहरीले जनाएको हो ।


घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोलीले माटो पन्छाएर बुढाथोकीलाई निकाल्दा उहाँको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

पहिरो पुरिएर तीन जना घाइते भएका छन् । रोल्पा रुन्टिगढि गाँउपालिका–७ खास्किबन बस्ने २८ वर्षका एलिना पुन, सोही ठाँउका ३८ वर्षका शान्ति पुन र ४९ वर्षका पार्वती पुन मगरको अवस्था मध्यम रहेको रोल्पा प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य तीन जना भने सकुशल रहेको जनाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।