खेलकूद विकास समिति विरूद्ध अख्तियारमा मुद्दैमुद्दा

अन्जना बिश्वकर्मा,
दाङ, १३ चैत /
दाङ जिल्ला खेलकूद विकास समिति विरूद्ध अख्तियारमा धेरै उजुरी परेका छन् ।

                       

समितिका कार्यालय प्रमुख शान्ती सोमैका अनुसार बेलझुण्डी रंगशालामा राखिएको दुवो सिंचाई गर्न तयार पारिएका डिप बोरिङ, पर्खाल, तुलसीपुर स्थित बहुउद्देश्यीय कबर्ड हललगायतमा प्रश्न चिन्ह उठाउँदै अख्तियारले छानविन गरेको हो। ‘गएको असोजमा हामीलाई पत्र आएको थियो’,उनले भनिन् ‘त्यसपछि हामीले त्यही अनुसार पत्र लेखेर पनि पठायौं ।’

अख्तियारको टोली आएर पनि स्थलगत अनुसन्धान पनि गरेको थियो । पर्खाल र कबर्डहलमा जग बलियो नबनाएको भन्दै कैफियत देखाएको सोमैले बताईन् ।‘जग गहिरो भएन भन्ने कुरा थियो’,उनले भनिन्  । त्यस्तै डिपबोरिङमा निर्माण सम्पन्न नहुँदै भुक्तानी लिएको कुरा उल्लेख थियो । एक वर्ष अघिदेखि अख्तियारमा उजुरी पुगेपनि त्यसको प्रक्रिया कहाँ पुग्यो भन्ने कुरामा भने आफूहरू अनभिज्ञ रहेको उनको भनाई छ । २०७३/०७ र २०७४/०७५ का सबै फाईल माग गरेको समेत उनले बताईन् ।

हस्तान्तरण भएन
दाङमा बहुउद्देश्यीय रंगशाला निर्माण भएपनि हस्तान्तरण हुन सकेका छैनन् । दाङ तुलसीपुर १७ बेलझुण्डी स्थित रंगशाला निर्माण भएको तीन वर्ष भयो,तर, हस्तान्तरण भएको छैन । एथ्लेटिक्स र फुटबल रंगशाला निर्माण भएको लामो समय भएपनि हस्तान्तरण हुन नसकेको दाङ जिल्ला खेलकूद विकास समितिका प्रमुख शान्ती सोमैले बताईन् ।‘रंगशाला निर्माण भएको २०७६ सालमा हो’,उनले भनिन्‘तर, किन हो, अझै हस्तान्तरण भएको छैन ।’

अन्तर्राष्ट्रिय स्तरको उक्त रंगशालामा अठौं राष्ट्रिय फुटबल तथा एथ्लेटिक्स प्रतियोगिता भएका हुन् । हस्तान्तरण नहुँदा आफूहरूलाई संरक्षणमा समस्या हुने गरेको उनको भनाई छ । अहिले जसोजसो संरक्षण गरेको भएपनि पूर्ण अधिकार नहुँदा गाह्रो भएको उनको भनाई छ । उक्त रंगशाला निर्माण गरेको ठेकेदारले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकूद प्रतियोगिताको रंगशाला निर्माण गरिरहेको छ ।

राष्ट्रिय खेलकूद परिषद् तथा प्रदेशस्तरको खेलकूद परिषद् कसले रंगशालाको संरक्षण र मातहतमा रहने विषय नटुंगिएपछि हस्तान्तरणमा समस्या भएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । कानुन अभाबमा यस्तो समस्या देखिएको हो । २४ करोड २४ लाख रूपैयाँ लागतमा उक्त रंगशाला निर्माण भएको हो । दिवा एमए प्रतिष्ठा जेभीले भिआइपी प्याराफिटसहित रंगशाला निर्माण गरेको हो ।

रंगशालामा भिआइपी प्याराफिट, बाथरुम, बिजुली र रंगरोगन समेत गरिएको छ । रंगशालामा फूटबल मैदानका साथै सेन्थेटिक ट्रयाक पनि निर्माण गरिएको छ । जुन मोफसलमा पहिलो हो । त्यहाँ भिआइपी प्याराफिटभित्र खेलाडीका लागि चेञ्जिङ रूम, अफिस, कन्फ्रेन्स हल, रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ । रंगशालाको पश्चिमतर्फ निर्माण गरिएको भिआइपी प्याराफिटमा चार सय १२ सिट छन् ।

रंगशालाको पूर्वी भागमा दर्शकका लागि साधारण प्याराफिट निर्माण गरिएको छ । भिआइपी प्याराफिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिटहरू मलेसियाबाट ल्याईएको हो । रंगशालामा प्रयोग गरिएका तारबार समेत विदेशबाटै ल्याईएको हो  । फिफा मापदण्डअनुसार निर्माण गरिएको फूटबल मैदानमा बरमुडा दुबो रोपिएको छ । यो दुबो भारतको कोलकताबाट ल्याएर रोपिएको हो ।


लमही क्रिकेट रंगशालाको अबस्था पनि त्यस्तै
दाङ देउखुरीको लमहीको निर्माणाधिन क्रिकेट मैदानको अवस्था पनि उस्तै छ । अहिले एउटा प्याराफिट निर्माण भइसकेको छ, भने अर्को तर्फको प्याराफिट निर्माणका काम जारी छ । त्यस्तै भिईपी प्याराफिट र टावर निर्माणको काम भइरहेको नगर विकास समितिका सबइन्जिनियर तुलसीराम अर्यालले बताए ।

उनका अनुसार अहिलेसम्म त्यहाँ मैदान निर्माण, अन्डर ग्राउन्ड, प्याराफिट, टावरलगायतमा गरि नगर विकास समितिको ९ करोड बढि लगानी भएको छ । त्यो लगानी अनुसार नगर विकास समितिले पनि आम्दानी लिनु पर्ने उनले बताए ।‘अहिले हामीले सबै कुरा हस्तान्तरण गर्ने भन्ने हुँदैन, हामीले मैदान क्यानलाई दिन्छौं’,उनले भने‘टिकेट लिने,सटर भाडा लिने सन्दर्भमा हाम्रो सर्त रहन्छ नै, त्यो बाहेक मैदान हामीले क्यानलाई हस्तान्तरण गछौं ।’

नेपाल क्रिकेट संघलाई संरक्षण्कालागि हस्तान्तरण गर्नुपर्ने भएपनि अहिलेसम्म हस्तान्तरण हुन नसकेको देउखुरी क्रेकट क्लबका सचिब ओमप्रकाश सुवेदीले बताए । उक्त रंगशाला निर्माण थालिएको २३ वर्ष बढि भयो । सोही मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि भएको हो । राष्ट्रिय खेलकूद प्रतियोगिता हुने भएपछि मात्रै त्यहाँ क्रिकेट मैदानको काम तिब्र रुपमा अघि बढाईएको थियो । उक्त रंगशाला चार हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

निराशाजनक नेत्रलाल अभागि रंगशाला
दाङमा ‘नेत्रलाल अभागी रंगशाला’ निर्माण कार्य पनि निराशाजनक छ । २०७६÷०७७ बाट निर्माण सुरू भएको उक्त रंगशालाको माटो कटिङ बाहेक अन्य काम अघि बढ्न सकेको छैन । प्रदेशको गौरवको योजनाका रूपमा रहेको उक्त रंगशालाकालागि यस अघि डेढ करोड बढि लगानी भएको छ, भने चालु वर्षकालागि पनि २ करोड बढि बजेट छुट्याईएको छ । त्यो बजेट अनुसार काम अघि बढेको रंगशाला व्यवस्थापन समितिका अध्यक्ष देवमन दमाईले बताए । निर्माण प्रक्रिया थालिएको ३ वर्ष भएपनि काम अघि बढ्न सकेको छैन ।

घोराही उपमहानगर–पालिका–१६ को करौती डाँडामा निर्माण हुन लागेको नेत्रलाल अभागी रंगाशालाकालागि सुरूमा ५० लाख र गएको आर्थिक वर्षमा १ करोड बजेट विनियोजन भएको थियो । यो रंगशालालाई प्रदेश सरकारले पञ्चवर्षीय योजना रूपमा अघि बढाएको छ । २७ बिगाह क्षेत्रफलमा उक्त रंगशाला बन्नेछ । जहाँ स्विमिङ पुल, फुटबल मैदान, ब्याटमिन्टन, भलिबल मैदानसहित अन्य खेलकुद संरचना निर्माण गरिनेछ ।

उक्त रंगशाला निर्माणकालागि घोराही उपमहानगरपालिकालो प्रतिकठ्ठा १२ लाखका दरले २७ कट्ठा निजी जग्गासमेत खरिद गरेको छ । उक्त रंगशालाको गुरूयोजना निर्माण गर्नकालागि नै तीन वर्ष लागेको थियो ।

तुलसीपुरमा बहुउद्देश्यीय कबर्डहल
दाङको तुलसीपरमा बहुउद्देश्यी कबर्डहल निर्माण भएको छ । उक्त रंगशालामा आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता पनि भएको थियो । जहाँ ब्याटमिन्टनल, बक्सिङ, भलिबलल गायतका खेल हुन्छन् । तुलसीपुर ६ इन्द्रनगर टोलमा उक्त कबर्डहल निर्माण भएको हो । ४२ मिटर लम्बाई र २२ मिटर चौडाई भएको कबर्डहल निर्माण गरिएको छ । साभारः अग्रिम साप्ताहिक