
दाङ,२७ फागुन ।
कुनै बेला काँग्रेसको गढ थियो–दाङ । जसरी रास्वपाले यो चुनाबमा क्लिन स्वीप बनायो । त्यसरी नै काँग्रेसले दाङलाई क्लीन स्वीप बनाउथ्यो । तर, अब त्यो छाप काँग्रेसले राख्न सकेन । २०४८,२०५१,२०५६ र २०७० मा दाङमा काँग्रेसले एकलौटी राज गरेको थियो । तर, २०६४ मा तत्कालिन माओवादीको एकलौटी राज भएको थियो, भने २०७४ मा एमाले–माओवादी गठबन्धनले काँग्रेसलाई ‘क्लीन स्वीप’ गरेका थिए । २०७९ मा माओवादी–काँग्रेस गठबन्धनले एमालेलाई ‘क्लीनस्वीप’ बनाएको थियो ।
दाङ–१ः मेटमणीलाई तेस्रो पटक संसदमा जान रोक
पटक–पटक काँग्रेसले जित्दै आएको दाङ क्षेत्र नं.१ बाट पछिल्लो दुई वटा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका मेटमणी चौधरीले जितेका थिए । २०७४ सालमा तत्कालिन माओवादीसहितको गठबन्धनबाट उनले काँग्रेसकै शुसिला चौधरीलाई हराएका थिए । त्यतिबेला उनी एमालेमा थिए । २०७९ को निर्वाचनमा भने एमालेबाट फुटेर एकीकृत समाजवादी भइसकेको थियो । सोही बेला पनि चौधरीले काँग्रेस र तत्कालिन माओवादी केन्द्रसंगको गठबन्धनबाट एमाले नेतृ शान्ता चौधरीलाई हराएका थिए । उनले दुबै उम्मेदवारलाई फराकिलो मतान्तरले हराएका थिए । शुसिलालाई करिब १४ हजार मतान्तरले हराएका मेटमणीले शान्तालाई भने पाँच हजार मतान्तरले हराएका थिए । तर, अहिले मेटमणीको जमानत नै जफत भयो ।

दाङ–२ ः शंकरको हारको छवि स्थापित
एमाले महासचिब शंकर पोखरले यस पटक पनि दाङ क्षेत्र नं.२ बाट नराम्ररी हार ब्यहोरे । उनको छबि सधै ‘लो प्रोफाईल’संग हार ब्यहोर्ने छ । उनी प्रत्येक्ष जितेर संघीय संसदमा गएको एक पटक मात्रै हो । उनले २०५१ तत्कालिन दाङको ३ नम्बर निर्वाचन क्षेत्रबाट काँग्रेसका दीपक गिरीलाइ हराएर संघीय संसदमा गएका थिए । त्यतिबेला एमालेबाट चु्नाब जित्ने उनी मात्रै हुन् । अन्य तीन क्षेत्रमा काँग्रेसले नै जितेको थियो । त्यसपछिका प्रायः निर्वाचनमा उनले हार ब्यहोरेका छन् । २०५६ सालको चुनावमा काँग्रेसका कृष्णकिशोर घिमिरेसंग हार ब्यहोरे । २०६४ सालको निर्वाचनमा भने उनी प्रत्येक्ष तर्फको निर्वाचनमा भाग लिएनन्, समानुपातिकबाट सांसद बने ।

त्यसपछि २०७० सालको निर्वाचनमा दाङ क्षेत्र नं.४ बाट काँग्रेस बुद्धिराम भण्डारीसंग पराजित भए । उनी २०७४ सालको निर्वाचनमा भने प्रदेशमा चुनाब लडेर जित हाँसिल गरेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने । त्यतिबेला उनले दाङ क्षेत्र नं.२ को प्रदेशसभा १ वाट चुनाव जितेका हुन् । २०७९ को निर्वाचनमा पुनः उनले तत्कालिन माओवादी नेतृ रेखा शर्मासंग १९३ मतान्तरले हार ब्यहोरे । अहिले उनले रास्वपाका विपिन कुमार आचार्यसंग हार ब्यहोरे ।
क्षेत्र नं.ः ३ छैठौ पटक चुनाब लड्दा दुई पटक मात्रै जित्ने दीपक गिरी
दाङ क्षेत्र नं ३ मा ६ पटक चुनाब लड्ने नेता हुन् दिपक गिरी । ६ पटक चनाब लडेपनि उनले दुई पटक मात्रै जीत निकालेका छन् । २०७० र २०७९ मा मात्रै उनले जित निकालेका छन् । ०७० मा एमालेका उत्तरकुमार वलीलाइ पराजित गरे भने, ०७९ मा एमालेकै कोमल वलीलाई पराजित गरे ।

२०५१ सालमा तत्कालिन दाङ क्षेत्र नं.३ बाट एमाले नेता शंकर पोखरेलसंग हार ब्यहोरेका गिरीले २०५६ सालमा निर्वाचन लडेनन् । उनको ठाउँमा गेहेन्द्र गिरी चुनाब लडे र जिते । त्यसपछि २०६४ सालमा दाङ क्षेत्र नं.५ बाट माओवादीको शुष्मा शर्मा घिमिरेसँंग पराजित भए ।
त्यसपछि उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका तत्कालिन जिल्ला सचिव हिराचन्द्र केसीसंग पराजित भए ।



लाइभदाङ । २७ फाल्गुन २०८२, बुधबार १०:४३ बजे