राप्ती गाउँपालिका वडा नं.३ को वडा कार्यालय भवनको शिलान्यास

तुल बहादुर कवँर मगर
देउखुरी, ११ फागुन ।
राप्ती गाउँपालिका वडा नं.३ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ । भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चौधरीले संयुक्तरूपमा शिलान्यास गर्नुभएको हो।

भवन निर्माणको काम ललितपुरको इनोभेटिभ डोको जलजला जेभी कम्पनीले लिएको छ । भवन निर्माणको काम गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन समेत दिनुभएको छ।

कम्पनीले एक वर्षमा काम सक्ने गरि २ करोड २ लाख ८७ हजार ८ सय ३९ रुपैयाँ ३ पैसामा गत माघ १६ गते सम्झौता गरि काम सुरु गरेको निर्माण व्यवसायी सुमन तिमिल्सिनाले जानकारी दिनुभयो। गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासेका अनुसार छुट्टाछुट्टै महिला पुरुष शौचालय,एक बैठक कक्ष सहित ८ काठे अपांग मैत्री २ तल्ले पक्की भवन बन्नेछ।


राप्ती गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष उमेश अधिकारीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष पहलवान चौधरी,वडा नं.३ का वडा सदस्यहरु चम्फा भुषाल,शान्त प्रसाद चौधरी,गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद शर्मा ,इन्जिनियर अशोक बेल्बासे,वडा सचिव शेर बहादुर हमाल ,प्राविधिक विष्णा गिरी लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

हाल वडा कार्यालयले गाउँपालिका परिसरमा रहेको भवनबाट सेवा प्रबाह गरिरहेको छ। यस अगाडि गाउँपालिकाका ८ वटा वडाको भवन निर्माण कार्य सम्पन्न भई सकेका छन्।