सल्यानमा अटाे दुर्घटना हुँदा एक जनाकाे मृत्यु

सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका स्थित लुहामबाट टुनिबोटतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा चालक त्रिवेणी गाउँपालिका ५ मुलाबारीका टेक बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रा १ ह ५०५२ नम्बरको खाली अटो टुनिबोट स्थित राप्ती राजमार्गमा शनिबार दिउँसो साढे १२ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर अर्जुन पौडेलले बताए ।


दुर्घटनापछि घाइते बनेका चालक विकको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

दुर्घटना लगतै इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी नायब निरिक्षक जयराम बुढाथोकीको नेतृत्वमा प्रहरी टोली पुगेको र अटो अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको प्रवक्ता पौडेलले बताए ।