
काठमाडौँ, १९ फागुन ।
दुई दिनपछि बिहीबार हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्रसँगै ५ किसिमका परिचय खुल्ने कागजात देखाए पनि मतदान गर्न पाइने छ।
निर्वाचनका आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात प्रयोग गर्नुपर्नेछ। उक्त परिचयपत्र नभएको अवस्थामा मतदाता नामावलीमा नाम भएकाहरूले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजातका आधारमा मतदान गर्न पाउनेछन्।
घिमिरेले मतदातालाई आफ्नो परिचय खुल्ने काजजात लिएर निर्धारित समय (बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म)मा आफ्नै मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गरे। आयोगकाअनुसार मतदानमा सहभागी हुनुअघि मतदाताले आफ्नो मतदान केन्द्र सुनिश्चित गरी परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। मतदाताले सम्बन्धित लाइनमा बसेर आफ्नो पालोअनुसार मतदान गर्नुपर्नेछ। तर आयोगले शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका लागि भने लाइन बस्नुपर्ने छैन।



लाइभदाङ । १९ फाल्गुन २०८२, मंगलवार १३:५७ बजे