राप्ती प्रादेशिक अस्पतालमा राजनीतिः प्रदेशले मेसु नियुक्त गरेकैदिन संघले प्रतिष्ठानमा पठाउने पत्र

दीपक बोहरा
दाङ, १६ भदौ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले डा. विनोद सिंहलाई हटाएर डा. ओम अर्याललाई निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त ग¥यो । मन्त्रालयको बुधबार बसेको बैठकले आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरि अर्थोपेडिक डा. अर्याललाई नियुक्त गरेको पत्र अपरान्ह सवा ४ बजेतिर आयो । त्यसको १०–१५ मिनेटमै संघबाट पनि अर्को पत्र मेलबाट आयो । संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको त्यो पत्रमा डा. अर्यालको दरबन्दी रहेकै स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिर्ता बोलायो । केन्द्रमा पनि बुधबार नै बसेको बैठकले यस्तो निर्णय गरेको उल्लेख छ ।

डा. अर्याल संघ अन्तर्गतका डाक्टर हुन् । उनको दरबन्दी प्रतिष्ठानमै छ । काजमा उनलाई प्रादेशिक अस्पताल ल्याईएको हो । त्यसैले पनि प्रतिष्ठानमै तानिएको स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीका स्वकीय सचिब अमित शर्माले बताए । प्रतिष्ठानले पनि डा. अर्यालको माग भएको भन्दै सोही अनुसार काज फिर्ता गरिएको शर्माले प्रतिक्रिया दिए ।‘प्रादेशिक अस्पतालमा पनि केही डाक्टर थप्ने र पश्चिम दाङको शान्तिनगर, बबई तथा दंगीशरणमा पनि डाक्टरहरु पठाउने तयारी गरेका छौं, केही दिनमा डाक्टर पुग्छन्’,उनले भने‘त्यसलाई मिलाउनकालागि एक ठाउँबाट अर्को ठाउँमा डाक्टर पठाउने काम भइरहेको छ ।’ त्यो दिन अन्य डाक्टरको पनि काज फिर्ता भएको र त्यही सूचिमा डा. अर्याल परेको उनले बताए ।

यद्यपी प्रादेशिक अस्पतालमा कार्यरत अधिकांस डाक्टर संघ अन्तर्गतकै कर्मचारी छन् । १७ जना कन्सलटेन्ट मध्ये २ जना मात्रै प्रदेशका कर्मचारी हुन् । यस अघिका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह पनि संघ अन्तर्गतकै डाक्टर हुन् । प्रादेशिक अस्पतालका अधिकांस संघ अन्तर्गतका डाक्टरको प्रतिष्ठानमै दरबरन्दी रहेको छ । तर, डा. अर्याललाई मात्रै सरुवा गर्नु शंकास्पद भएको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुका स्वीकीय सचिब राजेश चौधरीले बताए ।‘कि त सबैलाई तान्नु पर्ने हो, तर, डा. अर्याललाई मात्रै तान्नुले शंका पैदा भएको छ’,उनले भने ।
उनका अनुसार डा. विनोद र डा. ओमलाई मन्त्रालयमै बोलाएर छलफल गर्दा मन्त्री र सचिबसंग पनि आफू निमित्त मेसु छोड्न तयार रहेपछि यो प्रक्रिया अघि बढाईएको हो ।

अस्पतालमा प्रदेश अन्तर्गतका डा. प्रताप पोखरेल र डा. पदमराज अधिकारी मात्रै रहेको छन् । तुलसीपुरमा हाड तथा नशा रोग बिशेषज्ञ ओम अर्याल हुँदा विरामीलाई नेपालगञ्ज रेफर गर्नुपर्ने अबस्थाको अन्त्य भएको थियो । तर, यसरी एउटा डाक्टरलाई यहाँबाट लैजादा समस्या पर्ने उनले बताए ।


एउटा काम गर्ने इच्छा र जोश जाँगर भएको बेला संघबाट यस्तो पत्र आउनु दुःखको कुरा भएको डा. अर्यालले बताए ।‘म सधै विरामीकै लागि खट्ने गर्छु, मैले के अन्याय गरेको थिएँ र?’,उनले भने‘ राज्यको नीति स्पष्ट रुपमा नआउँदा यस्तो समस्या देखिने गर्छ ।’ यसरी नियुक्ती गरेकै दिन नियोजित तरिकाले काज फिर्ता गरेको समेत उनले बताए ।

यस अघि पनि निमित्त मेसु परिबर्तनको कुरा चलेको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले बताए ।‘मेसुबाट डा. विनोदको ठाउँमा अर्को राख्ने कुरा भएको थियो, त्यो बेला डा. विनोदले डा. ओमलाई सिफारिश गर्नुभएको थियो’,उनले भने‘त्यसकै आधारमा प्रदेशबाट चिठि आएको बेला केन्द्रबाट पनि आउने आश्चार्यजनक छ ।’

अस्पताल विगत ६ बर्षदेखि निमित्तको भरमा चल्दै आएको छ । यस अघि डा.भोलाराम श्रेष्ठ थिए । त्यसपछि अहिलेसम्म पनि अस्पतालले मेसु पाउन सकेको छैन ।