गढवा गाउँपालिकामा आज शोक बिदा

आलोक भावुक
गढवा,१७ फागुन।
गढवा गाउँपालिकाले आइतबार एक दिनका लागि पालिकाभर शोक बिदा दिएको छ। गाउँपालिका–५ निवासी ४५ वर्षीय स्वास्थ्यकर्मी डिल्लीराज रेग्मीको असामयिक निधनप्रति श्रद्धाञ्जली स्वरूप शोक बिदा दिइएको हो।

गाउँपालिकाद्वारा जारी विज्ञप्तिअनुसार वडा नम्बर ७ स्थित आधारभूत स्वास्थ्य इकाई मानपुरमा कार्यरत रेग्मीको निधनले स्थानीय तह स्तब्ध बनेको जनाइएको छ। स्वर्गीय रेग्मी लामो समयदेखि फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए। विभिन्न स्थानमा उपचार गराए पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनी केही समयदेखि घरमै विश्राममा रहेका थिए।

आइतबार बिहान आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको निधनले स्वास्थ्य क्षेत्रसँगै स्थानीय समुदायमा अपूरणीय क्षति पुगेको भन्दै गाउँपालिकाले शोक व्यक्त गरेको छ।


शोक बिदाका कारण आज गाउँपालिका मातहतका सबै कार्यालय तथा सेवा प्रवाह बन्द रहने जनाइएको छ।