अमेरिकाबाट निष्कासित ९५ जना नेपाली स्वदेश फिर्ता

दाङ, १६ फागुन ।
अमेरिकाबाट निष्कासित ९५ जना नेपाली नागरिक आज शनिबार बिहान स्वदेश फर्किएका छन् । उनीहरूलाई काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएलगत्तै आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बसन्त रजौरेका अनुसार फिर्ता आएका सबै व्यक्तिको व्यक्तिगत विवरण संकलन गरिनेछ । त्यसपछि उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाइने तयारी गरिएको छ । प्रारम्भिक सोधपुछ र कागजी प्रक्रिया पूरा भएपछि परिवारको जिम्मा लगाइने जनाइएको छ ।

गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका नेपालीलाई त्यहाँको सुरक्षा निकायले पक्राउ गरी निष्कासन गरेको हो । एकैदिन यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएको यो पहिलोपटक हो । गएको माघ ५ गते अमेरिकाले ९१ नेपालीलाई एकैदिन डिपोर्ट गरी पठाएको    थियो ।


अमेरिकाले यसअघि पुस ३ गते पनि ७५ जना नेपालीलाई एकैपटक डिपोर्ट गरी नेपाल पठाएको थियो । त्यसअघि भदौ १९ गते अमेरिकाले एकैदिन ३७ जना नेपालीलाई डिपोर्ट गरेको थियो ।

अमेरिकामा बस्न कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिक डिपोर्ट गरिएको उक्त देशले जनाउँदै आएको छ । प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खासगरी उनीहरूलाई अमेरिका पठाउने ९मानव तस्कर०का बारेमा सूचना लिने कार्य प्रहरीले गर्छ ।

अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका कैयौं नेपाली निष्कासनमा परेका छन् ।