लुम्बिनीमा शाह र पुनको प्यानलसहित उम्मेदवारी दर्ता

बुटवल १७ मंसिर।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि संस्थापन पक्षबाट भरतकुमार शाह र संस्थापन इतर पक्षबाट अमरसिंह पुनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

शाह रुपन्देहीबाट निर्वाचित संघीय सांसद एवं सार्वजनिक लेखा समिति सभापति हुन् भने पुन रोल्पा जिल्ला समितिका निवर्तमान सभापति एवं पूर्वराज्यमन्त्री हुन् ।

यस्तै दुई उपसभापति पदका लागि संस्थापनबाट राजु खनाल र सुधाकर पाण्डे तथा संस्थापन इतरबाट भुवनप्रसाद श्रेष्ठ र अष्टभुजा पाठकले उम्मेदवारी दर्ता गरेका छन् ।

दुई महामन्त्री पदमा संस्थापनबाट जन्मजय तिमल्सिना र खिमान सिंह रायमाझी तथा संस्थापन इतरबाट विक्रम खनाल र सुरेन्द्रराज आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।


यसैगरी तीन सहमहामन्त्रीमा संस्थापनबाट लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन तथा संस्थापन इतरबाट विष्णु खनाल ९मुस्कान०, खगराज पान्डेय र निमा गिरीले उम्मेदवारी दर्ता गरेका निर्वाचन समितिका प्रमुख डा। बुद्धबहादुर थापाले बताए ।

प्रदेशका १२ जिल्लामध्ये बाँकेबाहेक ११ जिल्लाको अधिवेशन सकिँदा रुपन्देही र बर्दियाबाहेक ९ जिल्लामा संस्थापन इतरले जिल्ला सभापति जितेको छ । रुपन्देही र बर्दियामा संस्थापन पक्षले जितेको छ ।

यस्तै प्रदेश सदस्य पदमा जिल्लागत रुपमा १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुल्लामा ५ महिला सहित १७ जनाका लागि निर्वाचन हुने छ ।

समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिलासहित ८ जना, आदिवासी जनजातिमा २ महिलासहित ५ जना, मधेशीमा २ महिलासहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित २ जना र अल्पसंख्यक वा अपाङ्गमध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति हुने कांग्रेस विधानमा व्यवस्था छ ।

लुम्बिनी प्रदेशमा प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी १ हजार ६ सय ४८ जना प्रतिनिधिहरु ९मतदाता० रहेका छन् । नेतृत्व चयनका लागि भोलि शनिबार बिहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ ।