
दाङ,४ जेठ ।
दाङ तुलसीपुर उपमहानगर–पालिका वडा नं.१९ स्थित बाँसगढी पार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको ९ बर्ष भइसकेको छ । तर, निर्माणको काम भने अगाडी बढ्न सकेको छैन । २०७४ सालमा उक्त पार्कको डीपीआर तयार भएको हो । त्यस यता तीन पटक मात्रै बजेट आएको छ । २०७९/०८० मा २० लाख बजेट आएको थियो । त्यो बजेटले पर्खाल, खानेपानी ट्याङ्की, २ वटा धारालगायतका संरचना निर्माण गरिएको थियो । त्यसपछि आर्थिक बर्ष २०८०/०८१ मा ५५ लाख बजेट आएको थियो । जसबाट गोलघर, शौचालय, खानेपानी ट्याङ्कीलगायत केही भवनहरु बनेका छन् । चालु बर्षमा पनि ७ लाखमा तारजाली निर्माण भएका छन् ।
तीनै पटक लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरेको निर्माण समितिका अध्यक्ष मस्तबहादुर थापाले बताए । तर, पनि पर्याप्त बजेट नआउँदा निर्माणको कामले गति लिन नसकेको उनको भनाई छ । यस क्षेत्रको पर्यटकीय विकासकालागि उक्त पार्कले भूमिका खेल्न सक्ने भएपनि निर्माणले गति लिन नसकेको उनको भनाई छ । ५ करोड बराबरका संरचना निर्माण गरेर पर्यटकीय स्थल बनाउने गरि डीपीआर तयार भएको थियो ।
‘वाटर फाउन्टेन’,‘स्वीमिङ पुल’,‘पिक्निक स्थल’लगायतका संरचना निर्माण गर्ने गरि डीपीआर बनेको थियो । अहिले त्यहाँ तीन विघा जग्गा छ । त्यही जग्गामा तारबार समेत भइसकेको छ । नजिकै मुहान भएकाले पनि पानीको समस्या छैन, भने सामुदायिक बन क्षेत्र भएकाले वातावरण पनि मनोरम छ । त्यहाँ अहिलेपनि त्यहाँ ‘पिक्निक’ खाना आइरहेका छन् । यसलाई ब्यबस्थित गर्न सकेमा आन्तरिक पर्यटकहरु भित्र्याउन सकिने अध्यक्ष थापाको भनाई छ ।



लाइभदाङ । ४ जेष्ठ २०८३, सोमबार ०६:२० बजे