गढवामा ४४औँ राष्ट्रिय एकता मगर दिवस तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

आलोक भावुक
गढवा,१५ फागुन।
दक्षिण देउखुरीको गढवा गाउँपालिका–१ धानखोलामा ४४औँ राष्ट्रिय एकता मगर दिवस विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल मगर संघ गढवा गाउँपालिका कार्य समितिका अध्यक्ष आई बहादुर घर्ती मगरको अध्यक्षता तथा नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष खलु प्रसाद पुनको प्रमुख आतिथ्यता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, १ का वडाध्यक्ष बाबुराम अधिकारी र ६ नं. वडाध्यक्ष वीरबहादुर आले मगरको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खलु प्रसाद पुनले मगर समुदायको त्याग, बलिदान र ऐतिहासिक योगदानको चर्चा गर्दै आफ्नो पहिचानप्रति गर्व गर्न आग्रह गर्नुभयो। “मगर समुदायले राष्ट्र निर्माण र ऐतिहासिक उपलब्धिमा महत्वपूर्ण भूमिका खेलेको छ, त्यसैले आफ्नो अस्तित्व र पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ,” उहाँले भन्नुभयो।


कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ले मगर भाषा लोपोन्मुख अवस्थामा रहेको उल्लेख गर्दै त्यसको लिपिबद्धीकरण र संरक्षणमा योजनाबद्ध पहल आवश्यक रहेको बताउनुभयो। “भाषा र संस्कृतिको संरक्षण बिना समुदायको पहिचान दीगो हुन सक्दैन,” उहाँले जोड दिनुभयो।
त्यसैगरी वडा नं. ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले ‘मगर’ शब्दमै गौरव अनुभूति गर्नुपर्ने बताउँदै पछिल्लो पुस्ताले आफ्नो थर र पहिचान हटाउँदै जानु चिन्ताको विषय भएको धारणा राख्नुभयो। उहाँले पाठ्यक्रममै मगर भाषाको पठनपाठन समावेश गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो।कार्यक्रममा समाजसेवी दिनेश पुनले विश्वभर रहेका मगर समुदायलाई आफ्नो सभ्यता, संस्कृति र पहिचान जोगाउन एकताबद्ध हुन आह्वान गर्नुभयो। इतिहासमा मगर समुदायमाथि भएका दमनका घटनालाई स्मरण गर्दै अब त्यस्ता गतिविधि दोहोरिन नदिन सामूहिक जागरण आवश्यक रहेको बताउनुभयो।

वक्ताहरूले राष्ट्रिय एकता मगर दिवसलाई मगर समुदायको प्रमुख चाडसरह रहेको उल्लेख गर्दै मौलिक कला, संस्कृति, भेषभूषा र रीतिरिवाजको संरक्षणमा स्थानीय सरकार र समुदाय दुवैको साझा दायित्व रहेको बताए।कार्यक्रममा आर्थिक तथा अन्य सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। शुभकामना मन्तव्य दिनेहरूमा वडा नं. १ का वडाध्यक्ष बाबुराम अधिकारी, दिवेश पुन, दीपा पुन, शुभबहादुर कुमाल, जितबहादुर आले मगर, मोहनसिंह राना मगर, दिलीपकुमार घर्ती मगरलगायत रहेका थिए।

लक्ष्मण घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बाबु रोका मगर र पुष्पा घर्ती मगरले गर्नुभएको थियो। कार्यक्रमभर विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए।