
प्रिया स्मृती गजमेर
देउखुरी, १२ फागुन ।
देउखुरीको लमही क्षेत्रमा सञ्चालनमा रहेका अटो तथा इ–रिक्साको व्यवस्थापन, सेवा प्रवाहलाई सुलभ बनाउने तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सरोकारवालाबीच व्यापक छलफल सम्पन्न भएको छ ।
बैठकले लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीको संयोजकत्वमा सुझाव समिति गठन गरिएको छ । देउखुरी उद्योग वाणिज्य संघ, लमही चेम्बर अफ कमर्स, वडा प्रहरी लमही अस्थायी ट्राफिक प्रहरी पोष्ट लमही, अटो व्यवसायी समिती सहितको सुझाव समिति बनाइएको छ । उक्त समितिले अध्ययन गरि १५ दिन भित्रमा प्राप्त प्रतिवेदन लमही नगरपालिकामा पेस गर्ने छ ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न छलफलमा अटो तथा इ–रिक्सा सञ्चालनलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने विषयमा गम्भीर छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले अव्यवस्थित पार्किङ, असुरक्षित सञ्चालन र नियम विपरीतका गतिविधिले सवारी दुर्घटना बढ्ने सम्भावना रहेको उल्लेख गर्दै स्पष्ट मापदण्डसहित सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरभित्र सञ्चालनमा रहेका सबै सवारी साधनलाई दर्ता, रुट व्यवस्थापन र समय तालिका अनुरूप सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
उपप्रमुख लक्ष्मी योगीले नागरिकलाई सहज, सुरक्षित र सर्वसुलभ यातायात सेवा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै नियम पालनामा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले कानुनी प्रक्रिया, कर तथा राजस्व व्यवस्थापन र दर्ता प्रणालीलाई कडाइका साथ कार्यान्वयन गरिने जानकारी दिनुभयो ।
वडा नम्बर–५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले वडास्तरमा देखिएका समस्याबारे जानकारी गराउँदै पार्किङ व्यवस्थापन र ट्राफिक सचेतनामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
देउखुरी उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेलले व्यवसायीहरूलाई स्पष्ट नीति तथा समन्वयमार्फत अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यसैगरी लमही चेम्बर अफ कमर्स का वरिष्ठ उपाध्यक्ष शशिराम नेपालीले दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम र निगरानी संयन्त्र सुदृढ गर्नुपर्ने सुझाव दिनुभयो ।
छलफलमा वडा प्रहरी कार्यालय लमहीका मनोहर राम चौधरीले ट्राफिक नियम उल्लङ्घन, बिना अनुमति सञ्चालन तथा ओभरलोडजस्ता समस्या न्यूनीकरणका लागि कडाइ गरिने बताउनुभयो ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका महादेव भट्टले सवारी चालकलाई अनिवार्य लाइसेन्स, बीमा र सुरक्षा मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।
उपभोक्ता हित संरक्षण शाखाका शिवराज न्यौपानेले भाडादर पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो भने राजस्व शाखा प्रमुख अम्बिका शर्माले सबै सवारी साधनलाई कर दायरामा ल्याएर व्यवस्थित अभिलेखीकरण गरिने जानकारी दिनुभयो ।
यसैगरी दाङ अटो यातायात प्रालिका अर्जुन पुन मगर र विनोद चौधरी, दाङ भ्याली यातायात प्रालिका शिबु चौधरी र बलजित दमाई तथा त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रालि लमहीका गोवर्धन सापकोटाले व्यवसायीको तर्फबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफलमा अटो तथा इ–रिक्सा सञ्चालनका लागि निश्चित पार्किङ स्थल तोक्ने, पहिचान नम्बर अनिवार्य गर्ने, भाडादर सार्वजनिक गर्ने, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्ने र नियमित अनुगमन गर्ने सहमति जुटेको जनाइएको छ ।
सरोकारवालाबीचको यस छलफलले लमही क्षेत्रमा सुरक्षित, व्यवस्थित र गुणस्तरीय अटो तथा इ–रिक्सा सेवा सञ्चालनका लागि सकारात्मक आधार तयार गरेको अपेक्षा गरिएको छ ।



लाइभदाङ । १२ फाल्गुन २०८२, मंगलवार २०:४१ बजे