
दाङ, ११ फागुन ।
सर्वाधिक चासोका साथ हेरिएको दाङ क्षेत्र नं.२ का उम्मेदवारहरु अहिले घरदैलोमा छन् । एमाले महासचिब शंकर पोखरेल सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकाले पनि यो क्षेत्र निकै चासोका साथ हेरिएको छ । सोही निर्वाचन क्षेत्रमा एमालेबाट पोखरेलसहित काँग्रेसबाट किरण किशोर घिमिरे, नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विपिन कुमार आचार्यसहित २३ जना उम्मेदवार चुनाबी मैदानमा छन् । सबै उम्मेदवारहरुले अहिले आफ्नो चुनाबी अभियानलाई अगाडी बढाएका छन् । आफ्ना एजेण्डा लिएर उम्मेदवारहरु घरदैलो अभियानमा छन् ।
पोख्रेलको एजेण्डाः राष्ट्रिय राजनीतिमा प्रभाब पार्ने
शकर पोखरेल एमाले महासचिब भएकाले पनि उनले आफूले राष्ट्रिय राजनीतिमा प्रभाब पार्ने कुरालाई मुख्य एजेण्डा बनाएका छन् । उनले लमही–घोराही–तुलसीपुर फोरलेन सडक निर्माण सम्पन्न गर्ने, ३५० बिघा क्षेत्रफलको घोराही औद्योगिक क्षेत्र निर्माण गर्ने , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४०० बेडको नयाँ अस्पताल भवन निर्माण गर्ने, मेडिकल कलेजका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गर्ने , त्रिवि अन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने एजेण्डा अघि सारेका छन् ।
त्यस्तै गुहारखोला हाइड्याम र नहर प्रणाली विकास गर्ने, ७२ सिटे जहाज उडान÷अवतरण गर्ने गरी तुलसीपुर विमानस्थलको विस्तार गर्ने, प्रमुख बस्तीका ग्रामीण सडक कालोपत्रे गर्ने, शहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण गर्ने, सामुदायिक विद्यालयको गुणस्तर सुधार र विद्यार्थी संख्या वृद्धि गर्ने जस्ता एजेण्डा लिएर उहाँ मतदातासम्म पुग्ने गरेका छन् । त्यस्तै स्वास्थ्य बीमाको दायरा विस्तार र सेवाको सुनिश्चितता गर्ने, कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको जीवनस्तर उठाउने, उद्यमी वन्न चाहने युवाका लागि विनाधितो सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने, नयाँ लगानीकर्तालाई निश्चित अवधिसम्म आयकर छुटको व्यवस्था गर्ने, सम्भाव्य खोला–सोतामा कृत्रिम जलाशय निर्माण गरी सिचाइ सुविधा विस्तार गर्ने, घोराहीदेखि वंगलाचुलीको खानी क्षेत्रजाने सडकलाई ढलान सड़क बनाउने, प्रदेश राजधानीको गुरु योजना कार्यान्वयन गर्ने उनका एजेण्डा छन् ।
काँग्रेसका उम्मेदवार घिमिरेको प्राथमिकता कृषि
काँग्रेसबाट उम्मेदवार बनेका किरण किशोर घिमिरेले आफ्नो प्राथमिकतामा कृषिलाई राखेका छन् । दाङमा ५६ हजार हेक्टर क्षेत्रफल जमिन भएको भन्दै उनले त्यो मध्ये कृषि योग्य जमिनलाई सिंचाई गर्न सकेमा त्यसले आधारभूत बर्गलाई समेट्न सक्ने बताए ।उनले यही ऐजेण्डालाई मुख्य बनाएर जनतामाझ गएका छन् । उनले माडीको पानी डाइभर्सन गरेर भएपनि दाङमा ल्याउने र त्यसबाटै सिंचाई सुविधा पु¥याउने एजेण्डा अघि सारेका छन् । त्यस्तै उनले एयरपोर्ट भन्दा पनि सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिने बताए ।
नेकपाका आचार्यको पनि कृषि नै प्राथमिकता
नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका निर्मल आचार्यको पनि एजेण्डा कृषि नै छ । उनले किसानका खेतमा पानी पु¥याउने कुरा नै अहिलेको आबश्यकता रहेको बताए । “अहिले सडक बनाउनलाई माटो भए हुन्छ, एयरपोर्ट बनाउन माटो भए हुन्छ”उनले भने “तर, कृषि खेति गर्नकालागि पानी कहाँबाट ल्याउने भन्ने समस्या छ ।” किसानको खेतमा पानी पु¥याउन सकियो भने नै त्यसबाट स्वरोजगार सिर्जना हुने उनले बताए । साथै उनले विकास गर्नकालागि जिल्लामा विकास प्राधिकरण बनाउनु पर्ने र सबै पालिकालाई समेटेर योजना निर्माण हुनुपर्ने बताए । यसले समग्र जिल्लाका ठूला योजना निर्माण गर्न सहज हुने कुरालाई एजेण्डा बनाएर जनतामा गएका छन् । साथै उनले आफू जिल्लाकै रैथाने उम्मेदवार रहेको कुरा पनि मतदातामाझ दावी गरे ।
रास्वपाका उम्मेदवारको भनाई छः स–साना कुरा लिऔं
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्यले जनताका स–साना कुरालाई समेट्नु पर्ने कुरामा जोड दिएका छन् । चुनाबको समयमा ठूला–ठूला मुद्दा लिएर जाँदा सुनिदा मिठो सुनिएपनि काम नहुँने हुँदा त्यसले जनतामा वितृष्ण पैदा हुने गरेको उनको भनाई छ ।“अहिले हामीले ठूला काम गछौं भन्दैनौं, जनताका आधारभूत समस्या समाधान गर्ने हाम्रो लक्ष्य हो”,उनले भने “ ठूलो नाराले जनतामा तात्विक प्रभाब पर्दैन ।” उनी शुसासन, अर्थतन्त्र सुधार, राज्य भएको अनुभूति दिने गरि काम गर्ने कुरा लिएर जनताको बीचमा गएका छन् ।
अन्य उम्मेदवार पनि घरदैलोमा
दाङ–२ मा २३ जना उम्मेदावार छन् । ति सबै उम्मेदवार घरदैलोमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ऋषि केश पोख्रेल,राष्ट्रिय जनमोर्चाका मनिराम खनाल, नेपाल मजदुर किसान पार्टीका नवीन कुमार शाही,राष्ट्रिय जनमुक्ती पार्टीका रविन्द्र उच्च नेपाली, मंगलो नेश्नल अर्गनाइजेशनका अम्मर बहादुर बुढा, मितेरी पार्टी नेपालका रेखबहादुर पुन मगर पनि घरदैलोमा छन् । त्यस्तै जनता समाजवादी पार्टी, नेपालका ढुण्डीराज थापा, आम जनता पार्टीका कृष्णबहादुर सुनार,नेश्नल रिपब्लिक नेपालका जीतन पुन, प्रगतिशिल लोकतान्त्रि पार्टीका प्रतिक अधिकारी,नागरिक उन्मुक्ती पार्टी नेपालका झरेन्द्र बहादुर खत्री पनि आफ्ना एजेण्डा लिएर घरदैलोमै जाने गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार धर्मराज शर्मा, विष्णु कुमारी भुषाल, विष्णु विक्रम सेन वली, लालबहादुुर खत्री, पदम प्रसाद पाण्डे, कल्पना लामा, वालाराम पौडेल र समीर वलीले पनि दाङलाई समृद्ध बनाउने भन्दै आफ्ना एजेण्डा लिएर जनतामाझ गएका छन् ।
दाङ २ मा एक लाख ४० हजार ९ सय ६५ मतदाता रहेका छन् । क्षेत्र नं. २ मा बंगलाचुली गाउँपालिका, घोराही उपमहानगरापलिकाका १५ वटा वडा र तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडा पर्छन् ।



लाइभदाङ । ११ फाल्गुन २०८२, सोमबार १०:०७ बजे