
बंशीकुमार शर्मा
दाङ, १० फागुन ।
आज देश संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ । प्रजातन्त्रमा जनादेश नै समस्याको समाधान गर्ने अचुत उपाय हो । तर परिस्थीतजन्य कारण समयावधि अगावै निर्वाचन हुन्दै छ । निर्वाचन होला नहोला भन्ने संका उपशंका उब्जिएका छन् । बहुमतको सरकारले आफनो सरकार टिकाउन सकेन भने र राज्यको सम्पतीको सुरक्षा पनि गर्न सकेन । अब हुने सरकारले राज्य टिकाउन सक्छ भन्ने आधारहरु अझै देखिएका छैनन् । क्षणभरमा समस्यामा परि यसको भविष्य र निकास अन्यौल छ । यदि निवार्चन नै समस्याको समाधान भए बिगतका निर्वाचित सरकारले समस्या समाधान किन गर्न सकेनन्रु तर प्रजातन्त्रको बिकल्प प्रजातन्त्र नै हो । प्रजातन्त्रमा नयाँ जनादेश भन्दा अर्काे बिकल्प पनि छैन । अब के हुने हो ? भविष्य कतातिर जाने ? देश र नेपाली जनताको भाग्य रेखा कस्तो हुने । यो प्रश्नको उत्तर जटिल छ । किनकि जुन मुलुकको राष्ट्रियता सवल हुदैन त्यसलाई धेरै समस्या आइलाग्छन्, जसरी प्रतिरोध शक्ति गुमाएको शरीरमा रोगहरु जाइलाग्छन् । मुलुक ठूलो हुदैमा बलियो र सम्पन्न हुने त होइन । सानो राष्ट्र पनि बलियो र सम्पन्न हुन्छ । उदाहरणको लागि भिमकाय मानव होस् वा बालक सबैको ज्वरो नाप्ने यन्त्र एउटै हुन्छ ।
त्यस्तै गरी राष्ट्रको आकार भौगोलिक अनुसार राष्ट्रियता हुने होइन । राष्ट्रलाई उसको इतिहास र संस्कृति हेरिन्छ । आफ्नो राष्ट्रप्रति त्यस राष्ट्रका जनताको निष्ठा र उद्देश्यमा भर पर्दछ । त्यस राष्ट्रलाई हाक्ने दलहरु र नेतृत्वदायी व्यक्तिहरुको चरित्र र भूमिकामा निर्भर गर्दछ किनकि यो राष्ट्र हाम्रा शुर वीर र दूरदर्शी पूर्खाहरुले आर्जन गरिदिएका हुन् । त्यसैले इतिहास र संस्कृतिमा हामी धनी छौं ।
यो राष्ट्र शक्तिले आर्जित भएको हो, त्यही शक्तिले नै हालसम्म बचाएर राख्यो तर आधुनिक राष्ट्रलाई जीवित रहने आधार अब शक्ति होइन राष्ट्रिय चेतना र समृद्धि चाहिएको छ ।
अब उसले आफू बाँच्नको लागि नयाँ आधार खोजेको छ । त्यसैले नेपाली जनताहरुले फेरि निर्वाचनबाट नै आशा र भरोसा राखेका छन् । राष्ट्रको रुपरेखा तयार गर्नको लागि सबल र सक्षम नैतिकवान् व्यक्ति ठानी राष्ट्रको नेतृत्व गर्न पठाउने छन र तिनीहरुको काधमा नेपाली जनता र राष्ट्रको भविष्य रहने छ ।
ती जिम्मेवारी पाएका नेतृत्वदायी व्यक्तिहरुले करिब ३ करोड नेपाली जनताको भावना र आकांक्षा अनुसार काम गर्नुपर्ने र तिनीहरुले निर्वाचनको बेला जनताहरुका सामु प्रस्तुत गरेका वाचा कबुल पूरा गर्नुपर्ने दायित्व छ । तर बिडम्बना विगतमा उनीहरुले सो जिम्मेवारी पूरा गर्न सकेनन् । उनीहरुले अनेक बहाना बनाएर आरोप प्रत्यारोपमा व्यस्त भए । सरकार फेर बेदलमा मात्र सीमित रहे । सत्ता र कुर्सीको लागि विदेशी शक्तिहरुको चाकडी गरे फलस्वरुप अन्तीम उनलाई बचाउन कोही पनि आएन । ऐजन्ट कहिलै पनि सुरििक्षत हुदैनन त्यसलाई बुझन सकेनन् । राजनैतिमा स्वच्छ प्रतिस्पर्धा हुन्छ तर सधै प्रजातन्त्रको पगरी गुथाएर जनतालाई र राष्ट्रलाई लुट्न ब्यस्त रहे । शान्ति, अमन चयन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुको साटो देशलाई अनिर्णयको बन्धीमा पुराएको कारण युवाले बिद्रोह गरे । अहिले बिद्रोही हराए उनको एजेण्डा अरु कसैले अपहरण गरिदियो । किनकी उनी संगठित थिएनन् उनीहरु लहलहैमा झिनभिन्न भए ।
लिखित दस्तावेज नभए कै कारण उनको योजना सफल हुन सकेन । उनीहरुको विद्रोह २०८४मा हुने निर्वाचन ०८२ मा भयो फरक केहि भएन । निर्दलीय सरकारको नाम दिए पनि निर्वाचन सम्पन्न बनाउने केहि मन्त्री परिषदका सदस्यहरु बिचैमा राजीनामा दिएर एउटा पार्टीका उम्मेदवार बन्न पुगे । उदेश्यले मेल खाएन । युवाको बिद्रोह कसैको सरकार ढाल्ने र नयाँ सरकार बनाउने मात्र सिमित हुन पुग्यो । यदि उनको बिद्रोहमा अनाहकमा सात दर्जन निद्रोसले ज्यान गुमाए ।कमसे कम सर्वपक्षिय सर्वदलिए सरकार भएको भए सर्वसुकार्य हुन सक्थ्यो त्यो पनि हुन सकेन ।
उनीहरुको बिद्रोह केका लागि अहिले बहसको विषय बनेको छ । यदि भ्रष्टाचार सुशासनकोलागि हो भने अहिले सम्म एकजना भ्रष्टाचारीलाई कारवाहि भएको छैन । सुशासन दण्डहिनतामा कमि आएको जनताले महशुस गर्न पाएका छैनन् । विगतका निर्वाचनमा पनि नेपाली जनताले चुनिएर सभासद बनाएका हुन् त्यो बिर्सिएका छैनन् । अनुहार फेरिदैमा केही हुदैन सोच परिवर्तन हुनु पर्दछ । अहिले बजारमा आएका नयाँ अनुहार पनि त्यति भरपर्दा देखिदैनन् । हुनतः मानिसको परिक्षण औवसर पाए पछि मात्र थाहा हुन्छ । औवसर नपाउँदा सम्म सवै इमान्दार हुन्छन किनकी उनीले ईमान्दारिता भंग गर्ने मौका पाएका हुदैनन् । तर नयाँ अनुहारको नेतृत्व समाल्नेको बिगतको चरित्र त्यति निशकंलक छैन । पुराना र नयाँ अनुहार जनताका माझमा आएका छन । नयाँले प्रतिवद्धता र पुरानाले सुध्रिने बाचा कवुल गर्दै जनतालाई रिझाउने प्रयास गर्दै छन् ।
विगतमा नेपाली जनताले जम्मेवारी दिए वाफत राष्ट्रको ढुकुटी (जो जनताको प्रत्यक्ष करबाट उठेको हुन्छ) बाट तिनीहरुलाई तलब, भत्ता सुविधा गाडी गार्ड दिएको छ । यदि दिएको काम पूरा गर्न नसक्ने हो भने तिनीहरुले आफूले लिएको तलब भत्ता मात्र होइन क्षतिपूर्ति समेत नेपाली राष्ट्रलाई बुझाउनु पर्दछ र नेपाली जनताका माझमा माफी माग्नु पर्दछ । तिनीहरुलाई माफी दिने नदिने नेपाली जनताहरुलाई नै फैसला गर्ने अधिकार हुनेछ । अब नेपाली जनताहरु सचेत भइसकेका छन् । नेतृत्वदायीहरुलाई नैतिकताको आधारमा फेरि नेपाली जनताहरुको माझमा जाने कुनै अधिकार हुनेछन् । यदि जाने दुस्प्रयास गरेमा नेपाली जनताले माफी दिने छैनन् । त्यसपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नेपाली शैलीको प्रजातन्त्रको नेतृत्व गर्न सक्ने दललाई छान्ने अधिकार नेपाली जनताले पाउनुपर्दछ । यही नै सही विकल्प हुनेछ । अहिले मुलुकमा अराजकता पनि त्यति कै बढेको छ । सानो प्वाँललाई समयमै टालिएन भने त्यसले ठूलो रुप लिन्छ । समस्या चाहे ठूलो होस् चाहे सानो अन्ततः त्यो समस्या नै हो । समस्या समाधानमा उदासिनता देखिने, आँखा चिम्लने हो भने त्यसले विकराल रुप लिनेमा कुनै शंका हुुदैन । त्रुटिका सामु दण्डहीनतालाई प्रश्रय दिनु भयानक त्रुटि हो । यदि सर्वसुकार्य निर्वाचन भएन भने राजनीतिक तरलता, लम्विदै सक्रमणकालले मुलुकको अवस्था अस्तव्यस्त हुनेछ ।
जनजीवनमा आतंक, त्रास, भय, अशान्ति हुनेछ । हाम्रो राष्ट्रको विगतको लामो इतिहाससम्म समाजका अग्रणी, प्रवुद्ध, वीर र निर्माताहरुको नेतृत्वमा राज्य सञ्चालन हुन्थ्यो । उनीहरुले यो एउटा राष्ट्र कायम गरे, उनको देशभक्ति र दूरदर्शीताकै आजको राष्ट्रियताको जग हो । उतिबेलाका केही प्रवुद्धहरुको ठाउँमा अब त सम्पूर्ण जनसमुदाय नै प्रवुद्ध र सजग भइसकेको छ । संयम भएको मानिनु पर्दछ । किनकि सबैलाई समान अधिकार प्राप्ति छ । राष्ट्रियतालाई प्रजातन्त्रको परिवेश दिनुपरेको छ । त्यो त्यति सहज सरल छैन त्यसैको कारण प्रजातन्त्रले सहज गति लिन समय लागेको छ ।
राष्ट्रियता अडिने एक मात्र आधार जनता हो । राष्ट्रप्रति जनताको समान निष्ठा र भक्तिको अपेक्षा गरिन्छ । प्रजातन्त्रमा मात्रै जनतालाई समान अधिकार र दायित्व सम्मत हुन्छ । नेपालको प्रजातन्त्र नेपाली राष्ट्रियता सापेक्ष हुनुपर्दछ । प्रजातन्त्रको मूलभूत सिद्धान्त सवैतिर समान रुपले नै स्वीकार छन् तर त्यो लागू हुने क्षेत्र भने देशका रुपमा बाँडिएको छ । तसर्थ प्रजातन्त्र आ–आफ्नो देशको राष्ट्रियता र संस्कृतिको विकासको प्रवद्र्धकको रुपमा हुनुपर्दछ ।
त्यस दृष्टिले यहाँ राष्ट्रियताको विकास गर्न अझै संघर्ष गर्नुपर्नेछ । कुनै समयमा थियो संसारका देशहरुमा सैद्धान्तिक निष्ठामा अडिने सिद्धान्तवादीहरु थिए, तर अहिले सिद्धान्तभन्दा स्वार्थ प्रवल भएर उपस्थित भएको छ । राष्ट्रियताप्रतिको चिन्तन फरक भएको छ । अचेल विकसित राष्ट्र होऊन् वा विकाशोन्मुख राष्ट्र सबै देशको चिन्तन र प्रकृति आ–आफ्नो राष्ट्र स्वार्थबाट निर्दिष्ट देखिन्छ । त्यसैले नेपालले पनि आफ्नै पद्धतिको विकास आफ्नै राष्ट्रियता बलियो बनाउने दृष्टिकोणले गराउनु पर्दछ । राष्ट्रियता र प्रजातन्त्रलाई एक अर्काका परिपूरक भनिए तापनि नेपालको राष्ट्रियता स्वार्थको लागि नेपालको प्रजातन्त्र एक साधन हो अन्तिम लक्ष्य त राष्ट्रियता हो ।
नेपालको राष्ट्रियताप्रति सम्पूर्ण नेपालीको समान निष्ठा र भक्तिमा अडिएको छ । त्यसबाहेक अझ कुनै आधार हुन सक्दैन । ठूला शक्तिहरुको सन्तुलनमा आफ्नो अस्तित्व सुरक्षित राख्न संसारका साना देशहरुको भूमिका रहेको छ । तर ठूला शक्तिहरुको आफ्नो स्वार्थ मिल्दा वा बाझिदा कमजोर छिमेकीलाई कसैले ध्यान दिन्छ । त्यसैले नेपालले आफ्नै भरमा, आफ्नै संस्कृति अनुसारको राष्ट्रियताको विकास गर्नुपर्दछ यही नै नेपालको लागि सही मार्ग हो ।



लाइभदाङ । १० फाल्गुन २०८२, आईतवार १७:१५ बजे