
तुलसीपुर(दाङ), २६ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा दुई हजारभन्दा बढी किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइने भएको छ । जनस्वास्थ्य प्रवद्र्धन महाशाखाका जनस्वास्थ्य अधिकृत बिमल केसीका अनुसार यस वर्ष उपमहानगरपालिका भित्र कक्षा ६ मा अध्ययनरत २ हजार १ सय २४ जना तथा विद्यालय बाहिर रहेका ४९ जना गरी कुल २ हजार १ सय ७३ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । गत वर्ष तुलसीपुरमा १० हजार १ सय ६१ जना किशोरीले एचपीभी खोप लगाएका थिए ।
माघ २८ गते बुधबारदेखि फागुन १ गतेसम्म उपमहानगरभित्र रहेका १९ वटै वडाका १ सय खोप केन्द्रबाट सेवा प्रदान गरिनेछ । पाठेघरको मुखको क्यान्सरबाट जोगिन प्रभावकारी मानिने एचपिभि खोप यसवर्ष कक्षा ६ मा अध्ययनरत किशोरीहरु,लक्षित उमेर समुहमा गतवर्ष छुटेका, हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय वाहिर रहेका ११ देखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई प्राथमिकताका साथ लगाउने कार्यतालिका रहेको छ । विगतमा एचपीभी खोपको एक मात्रा लगाइसकेकाले भने पुनः लगाउन नपर्ने जनस्वास्थ्य अधिकृत केसीले बताउनुभयो ।
यस वर्ष सबैभन्दा धेरै वडा नम्बर ६ मा ५ सय ८९ जना किशोरीलाई खोप लगाइनेछ । उक्त वडामा तीन दिनसम्म कार्यक्रम सञ्चालन हुनेछ । एचपिभि भाइरसका कारण हुने पाठेघरको मुखको क्यान्सर, यौनाङ्गसम्बन्धी क्यान्सर तथा यौन सम्पर्कबाट सर्ने समस्याबाट बच्न यो खोप अत्यन्त उपयोगी छ । एचपिभि खोप यो उमेरमा लगाउँदा शरीरमा बलियो प्रतिरक्षा प्रणाली विकास हुने र भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यून हुने गर्दछ ।



लाइभदाङ । २७ माघ २०८२, सोमबार २२:३८ बजे