लुम्बिनी प्रदेश सरकारद्वारा आफ्नै प्रशासनिक भवनबाट सेवा सुरु

दाङ,२१ बैशाख ।
लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबारदेखि राप्ती गाउँपालिका-३ स्थीत राप्ती उपत्यका मसुरियामा निर्माण गरिएका नयाँ प्रशासनिक भवनबाट प्रशासनिक कामकाजको शुभारम्भ गर्नुभएको हो । उहाँले संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको बताउनुभएको थियो । भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारले आफ्नै लगानीमा निर्माण गरेको भवनमा सबै मन्त्रालय सारिएको जानकारी दिँदै यसलाई अन्य प्रदेशका लागि सिकाइको उदाहरण भएको बताउनुभयो ।

प्रदेश सरकारको प्रशानिक भवन निर्माणका लागि २०७९ साल मंसिर २८ गते शर्मा(सगुन जेभीसंग ठेक्का सम्झौता गरेको थियो । ३ अर्ब ९ करोड २९ लाख ३८ हजार ७२ रुपियाँ लागतमा निर्माण गरिएको प्रशासनिक केन्द्र १७ बिघा १९ कट्ठा ४ धुर क्षेत्रफलमा फैलिएको छ । प्रदेश राजधानी कार्यान्वयन एकाइका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराईका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० वटा मन्त्रालय भवन निर्माण भएका छन् ।


अन्डरग्राउन्ड पार्किङसहित ६ तलाको मुख्यमन्त्री भवन छ भने अन्य ९ वटा भवन पाँच तलाका रहेका छन्। प्रत्येक भवनमा अलग-अलग लिफ्टको व्यवस्था गरिएको छ । नयाँ प्रशासनिक केन्द्र सञ्चालनमा आएसँगै सेवा प्रवाह थप सहज, प्रभावकारी र एकीकृत हुने अपेक्षा गरिएको छ । २०७९ मंसिर २८ गते प्रदेश सरकारले तत्कालीन राप्ती प्राविधिक शिक्षालयका भवनहरुमा मन्त्रालयको काम थालेको थियो ।